वेस्ट बैंकको हेब्रोन सहरनजिकै भएको गोलीबारीमा आफ्ना दुई सैनिक मारिएपछि इजरायली सेनाले शुक्रवार रातिदेखि त्यहाँ व्यापक सैन्य कारबाही शुरु गरेको छ । इजरायली नेतृत्वले आक्रमणकारी आएको क्षेत्रका बासिन्दालाई विस्थापित गर्ने र भौतिक संरचनाहरू भत्काउने चेतावनी दिएलगत्तै सेनाले हेब्रोनलाई घेराबन्दीमा पारेर यो अपरेसन थालेको हो । इजरायली सेना र आन्तरिक सुरक्षा निकाय ‘सिन बेट’ ले जारी गरेको संयुक्त विज्ञप्तिअनुसार यो कारबाही आगामी केही दिनसम्म जारी रहनेछ । आक्रमणमा संलग्न दुई प्यालेस्टिनी बन्दुकधारी आएको विशिष्ट क्षेत्रलाई केन्द्रित गरी कारबाही अगाडि बढाइएको सुरक्षा निकायले जनाएको छ। विज्ञप्तिमा भनिएअनुसार यस अभियानको मुख्य उद्देश्य विद्रोही पूर्वाधारहरू नष्ट गर्नु, हतियार बरामद गर्नु र संदिग्धहरूलाई नियन्त्रणमा लिएर सोधपुछ गर्नु रहेको छ । इजरायली सेनाले यो अपरेसन लक्षित क्षेत्रमा मात्र सिमित रहने दाबी गर्दै सुरक्षा जाँच र सोधपुछपछि स्थानीय बासिन्दालाई तीनवटा तोकिएका नाकाबाट बाहिरिन अनुमति दिइने जनाएको छ । यसअघि इजरायलका रक्षामन्त्री इजरायल काट्जले जेनिन शरणार्थी शिविरमा अपनाइएको कडा सैन्य नीति अब हेब्रोनमा पनि विस्तार गरिने घोषणा गरेका थिए । सामाजिक सञ्जाल एक्समा लेख्दै मन्त्री काट्जले बन्दुकधारी निस्किएको सम्पूर्ण बस्तीलाई खाली गराइने र गाजा तथा लेबनानमा जस्तै विद्रोही संरचनाहरू ध्वस्त पारिने चेतावनी दिएका थिए । इजरायलमा हुन लागेको संसदीय निर्वाचनको चार दिनअगाडि प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले समेत हेब्रोनमा सैन्य कारबाही र संरचना भत्काउने अभियानलाई तिब्रता दिने प्रतिवद्धता व्यक्त गरेका छन् । हेब्रोननजिकै भएको सशस्त्र आक्रमणमा दुई इजरायली सैनिकको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएका थिए । घटनालगत्तै इजरायली सुरक्षा बलको जवाफी कारबाहीमा दुवै प्यालेस्टिनी बन्दुकधारीहरू घटनास्थलमै मारिएका थिए । उक्त घटनापछि वेस्ट बैंक क्षेत्रमा तनाव थप चुलिएको छ ।




