काठमाडौं, ४ चैत । स्पेनिस लिग फुटबलमा बार्सिलोनाले रियल बेटिसलाई ४–१ ले हराएको छ ।
बार्सिलोनाको जितमा कप्तान लियोनल मेसीले ह्याट्रिक गरेका थिए । अर्को एक गोल लुइस सुवारेजले गरेका थिए । घरेलु टोली रियल बेटिसका लागि लोरेन मोरोनले सान्त्वना गोल फर्काएका थिए । मेस्सीले ला लिगामा गरेको यो ३३ औं ह्याट्रिक हो ।
यो जितसँगै स्पेनिस लिग फुटबलमा बार्सिलोनाले २८ खेलबाट ६६ अंक जोडेको छ । समान खेल खेलेको एथ्लेटिको मड्रिड दोस्रो स्थानमा रहेको छ । एथ्लेटिको मड्रिडको ५६ अंक रहेको छ । ५४ अंकसहित रियल मड्रिड तेस्रो स्थानमा रहेको छ ।




