आन्दोलनरत राहत शिक्षकहरुको माग तत्काल सम्बोधन गर्न सांसदकाे माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

आन्दोलनरत राहत शिक्षकहरुको माग तत्काल सम्बोधन गर्न सांसदकाे माग

राहत शिक्षक

काठमाडौं, फागुन २२ । प्रतिनिधि सभाका सांसदहरुले आन्दोलनरत राहत शिक्षकहरुको माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेका छन् । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस, सत्तारुढ नेकपा, राष्ट्रिय जनता पार्टी, नेपालका सांसदहरुले माध्यामिक शिक्षा परीक्षा संचालन हुनु अघि नै राहत शिक्षकहरुको माग सम्बोधन गरी सामुदायिक विद्यालयहरुको पठनपाठनको काम सुचारु गराउने वातावरण तत्काल बनाउन सरकारलाई सचेत समेत गराएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा विशेष समय लिएर बोल्दै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले आन्दोलनरत राहत शिक्षकहरुको माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरे ।

उनले राहत शिक्षकहरुको शान्तिपूर्ण आन्दोलनमाथि प्रहरीले हस्तक्षेप गरेकोमा सरकारको निन्दा र भत्सर्ना गर्दै उनीहरुको माग सम्बोधन नगरे सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिए ।

सत्तारुढ नेकपाका सांसद खगराज अधिकारीले ४० हजारको संख्यामा रहेका राहत शिक्षकहरुको माग तत्काल सम्बोधन गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराए । उनले राहत शिक्षकहरुको माग सम्बोधन हुने गरी संघीय शिक्षा ऐन ल्याउन पनि सरकारसँग माग गरे ।

राहत शिक्षकहरुको माग तत्काल सम्बोधन गरी सामूदायिक विद्यालयको पठनपाठन सूचारु नगराए त्यसले भयावह स्थिति निम्त्याउने सांसद अधिकारीको चेतावनी छ ।

राष्ट्रिय जनता पार्टी, नेपालका सांसद महेन्द्रराय यादवले राहत शिक्षकहरुको आन्दोलनमाथि प्रहरीले हस्तक्षेप गरेकोमा आपत्ति जनाए । उनले राहत शिक्षकहरुको माग तत्काल सम्बोधन गरी सामूदायिक विद्यालयहरुको पठनपाठन सूचारु गराउन पनि सरकारलाई सचेत गराए ।

राहत शिक्षकहरुले आफूहरुलाई स्वतःस्थायी गर्ने कानुनी व्यवस्था गर्न माग गर्दै विद्यालयको पठनपाठननै ठप्प पारेर काठमाडौंमा विरोध प्रदर्शन गर्दै आएका छन् । त्यसै क्रममा गत फागुन २० गते सोमबार नयाँ बानेश्वरमा शान्तिपूर्ण आन्दोलनमा सहभागी भएका राहत शिक्षकहरुलाई प्रहरीले धरपक्कड गरेको थियो ।

उनीहरुको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेकोमा प्रतिनिधि सभाका सांसदहरुको आपत्ति छ । सांसद यादवले प्रहरी हस्तक्षेपबाट घाईते भएका राहत शिक्षकहरुलाई तत्काल औषधि उपचारको व्यवस्था गर्न पनि सरकारसँग माग गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);