अस्ट्रेलियाको वार्षिक उपभोक्ता मुद्रास्फीति दर जुन महिनामा घटेर ३.८ प्रतिशत कायम भएको छ । अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) ले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार मुद्रास्फीतिमा आएको यो गिरावट अर्थशास्त्रीहरूको अनुमानविपरीत देखिएको हो । अर्थशास्त्रीहरूले जुन महिनामा मुद्रास्फीति ४.१ प्रतिशत पुग्ने अनुमान गरेका थिए । यसअघि मे महिनामा अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर ४.० प्रतिशत रहेको थियो । अस्ट्रेलियाको केन्द्रिय बैंक ’रिजर्भ बैंक अफ अस्ट्रेलिया’ (आरबीए) ले भने जुन महिनामा मुद्रास्फीति दर ४.८ प्रतिशतसम्म पुग्न सक्ने प्रक्षेपण गरेको थियो । त्यस्तै, केन्द्रीय बैंकले मुद्रास्फीति मापनका लागि बढी प्राथमिकता दिने ‘ट्रिम्ड मीन’ (अन्तरनिहित मुद्रास्फीति) ३.८ प्रतिशत पुग्ने अनुमान गरे पनि जुन महिनामा यो ३.६ प्रतिशतमा नै स्थिर रहेको एबीएसले जनाएको छ । तथ्याङ्कअनुसार जुन महिनासम्मको १२ महिनाको अवधिमा आवास लागतमा ६.८ प्रतिशतले वृद्धि भएको छ, जुन उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) बढ्नुको प्रमुख कारक बनेको छ । यसैगरी खाद्य तथा गैर–अल्कोहोलिक पेय पदार्थको मूल्यमा ३.३ प्रतिशतले वृद्धि भएको देखिएको छ ।
अर्कोतर्फ, इन्धनको मूल्यमा लगातार तेस्रो महिना आएको गिरावटले यातायात क्षेत्रको मुद्रास्फीति घटाउन सहयोग पु¥याएको छ । मे महिनामा ३.३ प्रतिशत रहेको यातायात मुद्रास्फीति जुन महिनामा घटेर ०.१ प्रतिशतमा झरेको छ । एबीएसका मूल्य तथ्याङ्क विभाग प्रमुख रेचेल म्याक क्रिरिकका अनुसार मध्यपूर्वको तनावमा आएको केही सुधार र विश्व बजारमा कच्चा तेलको मूल्य घट्दा अस्ट्रेलियामा इन्धनको मूल्य १०.९ प्रतिशतले सस्तिएको हो ।
सरकारले इन्धनको विक्री करमा उपलब्ध गराउँदै आएको ५० प्रतिशत छुट जुन महिनासम्म यथावत् रहे पनि जुलाईबाट यो सुविधा क्रमिक रूपमा हटाउन थालिएको छ । यो सहुलियत आगामी आईतवारबाट पूर्ण रूपमा समाप्त हुने बताइएको छ । यसैबीच, आरबीएकी गभर्नर मिशेल बुलकले मुद्रास्फीति दरलाई बैंकको निर्धारित लक्ष्य (२ देखि ३ प्रतिशत) भित्र ल्याउन आवश्यक परेमा थप कदम चाल्न बैंक प्रतिवद्ध रहेको बताउनुभएको छ । मंगलवार एक सम्बोधनका क्रममा उहाँले आवश्यकताअनुसार ब्याजदरमा थप वृद्धि गर्न सकिने सङ्केत गर्नुभयो । बैंकको मौद्रिक नीति समितिले सन् २०२६ को पहिलो ६ महिनामा ०.२५ प्रतिशतका दरले तीन पटक ब्याजदर वृद्धि गरिसकेको छ । बैंकको आगामी बैठक अगस्ट ९ र १० तारिखमा बस्ने तय भएको छ ।





