सन् २०२६ को दोस्रो त्रैमासिकमा मलेसियाको मुद्रास्फीति दर १.९ प्रतिशत पुगेको छ । यातायात, बीमा र वित्तीय सेवाको लागतमा भएको वृद्धिका कारण अघिल्लो त्रैमासिकको १.६ प्रतिशतको तुलनामा मूल्यवृद्धिमा केही चाप देखिएको हो । मलेसियाली तथ्याङ्क विभागले शुक्रवार सार्वजनिक गरेको प्रतिवेदनअनुसार, यस अवधिमा बीमा तथा वित्तीय सेवाको मूल्यमा ५.२ प्रतिशतको उल्लेख्य वृद्धि भएको छ । त्यसैगरी, यातायात क्षेत्रमा ३.६ प्रतिशत, मदिराजन्य पदार्थ तथा सुर्तीजन्य वस्तुमा २.८ प्रतिशत र सूचना तथा सञ्चार क्षेत्रमा २.१ प्रतिशतले मूल्य वृद्धि भएको छ ।
अन्य क्षेत्रतर्फ आवास, पानी, बिजुली, ग्यास र अन्य इन्धनको मूल्य १.२ प्रतिशतले बढेको छ भने मनोरञ्जन, खेलकुद तथा संस्कृतिमा १ प्रतिशत र घरायसी सरसामान एवं मर्मतसम्भारमा ०.४ प्रतिशतको वृद्धि देखिएको छ । यद्यपि, केही क्षेत्रको सुस्त मूल्यवृद्धिले समग्र मुद्रास्फीतिलाई सन्तुलनमा राख्न सहयोग पु¥याएको छ । व्यक्तिगत हेरचाह, सामाजिक सुरक्षा र विविध वस्तु तथा सेवाको मूल्यमा ४.३ प्रतिशतको वृद्धि देखिए पनि यो अघिल्लो तुलनामा सुस्त हो । यस्तै, रेस्टुरेन्ट र आवास सेवामा २.६ प्रतिशत, शिक्षामा २.२ प्रतिशत र स्वास्थ्य क्षेत्रमा १.३ प्रतिशतले मूल्य वृद्धि भएको तथ्याङ्कले देखाएको छ । मासिक आधारमा हेर्दा, मलेसियाको मुख्य मुद्रास्फीति जुन महिनामा १.९ प्रतिशतमा झरेको छ, जुन मे महिनामा २ प्रतिशत रहेको थियो । कुल उपभोक्ता मूल्य सूचकाङ्कमा २९.८ प्रतिशत हिस्सा ओगट्ने खाद्य तथा पेय पदार्थ समूहको मूल्य जुन महिनामा १.४ प्रतिशतले बढेको छ । यो वृद्धि दर अघिल्लो महिनाको तुलनामा स्थिर रहेको विभागले जनाएको छ ।




