सन् २०२६ को दोस्रो त्रैमासिकमा मलेसियाको बेरोजगारी दर झिनो अंकले वृद्धि भई ३ प्रतिशत पुगेको छ । मलेसियाको तथ्याङ्क विभागले मंगलवार सार्वजनिक गरेको प्रतिवेदनअनुसार अघिल्लो त्रैमासिकमा २.९ प्रतिशत रहेको बेरोजगारी दर यस अवधिमा सामान्य बढेको हो । तथ्याङ्कअनुसार अघिल्लो त्रैमासिकको तुलनामा बेरोजगार व्यक्तिको संख्या ०.६ प्रतिशतले वृद्धि भई ५ लाख ९ हजार ७ सय पुगेको छ । श्रमशक्तिमा भएको निरन्तर विस्तारका कारण बेरोजगारको संख्यामा यो वृद्धि देखिएको विभागले उल्लेख गरेको छ । मलेसियाको कुल श्रमशक्ति अघिल्लो त्रैमासिकको १७.२३ मिलियनबाट ०.३ प्रतिशतले बढेर १७.२८ मिलियन पुगेको छ । यसैगरी, रोजगारीमा आबद्ध व्यक्तिहरूको संख्यामा पनि ०.२ प्रतिशतको सामान्य वृद्धि भई १६.७७ मिलियन पुगेको छ । श्रमशक्ति सहभागिता दर भने अघिल्लो त्रैमासिककै तुलनामा ७०.९ प्रतिशतमा स्थिर रहेको विभागको विज्ञप्तिमा उल्लेख छ । आगामी महिनाहरूको प्रक्षेपण गर्दै विभागले मलेसियाको श्रम बजार सुदृढ रहने अपेक्षा गरेको छ । स्थिर आन्तरिक आर्थिक अवस्था, लगानीका गतिविधिमा निरन्तरता र श्रमको मागका कारण बजारमा सकारात्मक प्रभाव रहने विश्वास गरिएको छ ।
यद्यपि, विश्वव्यापी ऊर्जा बजारमा जारी अनिश्चितता, भू–राजनीतिक घटनाक्रम र वैदेशिक व्यापारको स्थितिले व्यापारिक लागत तथा भर्ना प्रक्रियामा चुनौती थप्न सक्ने प्रतिवेदनमा उल्लेख गरिएको छ । यदि यस्ता वाह्य दबाबहरू कायम रहेमा त्यसले रोजगारदाताहरूको निर्णय प्रक्रियामा प्रभाव पार्न सक्ने विभागले जनाएको छ ।





