सन् २०२६ को दोस्रो त्रैमासमा मलेसियाको निर्माण क्षेत्रमा ८.८ प्रतिशतको बलियो वृद्धि देखिएको छ । मलेसियाको तथ्याङ्क विभागले बिहीवार सार्वजनिक गरेको विवरणअनुसार यस अवधिमा कुल ४७.८ अर्ब रिंगिट (११.६८ अर्ब अमेरिकी डलर) बराबरको निर्माण कार्य सम्पन्न भएको छ । चालु वर्षको पहिलो त्रैमासमा निर्माण क्षेत्रमा ८.५ प्रतिशतको वृद्धि देखिएको थियो, जसको तुलनामा दोस्रो त्रैमासको वृद्धिदर केही उच्च हो । विभागको वक्तव्यअनुसार विशेष व्यापार गतिविधि र गैर–आवासीय भवन उप–क्षेत्रमा भएको सुधारले समग्र निर्माण क्षेत्रलाई चलायमान बनाएको हो । यस अवधिमा विशेष व्यापार गतिविधिमा १७.६ प्रतिशत र गैर–आवासीय भवन निर्माणमा १३.३ प्रतिशतको वृद्धि देखिएको छ ।
यस्तै, आवासीय भवन निर्माणमा ८.७ प्रतिशत र सिभिल इन्जिनियरिङ क्षेत्रमा २.७ प्रतिशतको वृद्धि दर्ता गरिएको छ । कुल सम्पन्न निर्माण कार्यमा सिभिल इन्जिनियरिङको हिस्सा सबैभन्दा बढी ३५ प्रतिशत रहेको छ ।
निर्माण गतिविधिहरूमा निजी क्षेत्रको योगदान ६५.८ प्रतिशत रहेको विभागले जनाएको छ ।सन् २०२६ को पहिलो अर्धवार्षिक अवधिको तथ्याङ्क हेर्दा निर्माण क्षेत्रमा कुल ८.७ प्रतिशतको वृद्धि भई ९४.३ अर्ब रिंगिट बराबरको काम भएको छ । सन् २०२५ को पहिलो ६ महिनामा देखिएको १४.७ प्रतिशतको वृद्धिको तुलनामा यो वर्षको वृद्धिदर भने केही सुस्त देखिएको छ ।यद्यपि, सबै उप–क्षेत्रहरूले सकारात्मक वृद्धि हासिल गरेका छन् । जसमा विशेष व्यापार गतिविधि २१ प्रतिशत र गैर–आवासीय भवन क्षेत्र १३ प्रतिशतले बढेका छन् ।





