अमेरिका र इरानबीच बढ्दो तनाव कम गर्न र दुवै पक्षलाई ‘इस्लामावाद समझदारी पत्र’ को दायरामा फर्काउन पाकिस्तानले आफ्नो कुटनीतिक प्रयासलाई तीव्रता दिएको छ । पाकिस्तानको परराष्ट्र मन्त्रालयका प्रवक्ता ताहिर हुसेन अन्ड्राबीले बिहीवार आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा यसबारे जानकारी दिनुभएको हो । प्रवक्ता अन्ड्राबीकाअनुसार हर्मुज जलडमरुमध्यको अवस्थालाई सामान्य बनाउन र विद्यमान तनाव न्युनिकरणका लागि सम्बन्धित पक्षहरूबीच वार्ता जारी छ ।
उहाँले भन्नुभयो, ‘हामी दुवै पक्षलाई इस्लामावाद समझदारीको मर्म अनुरूप अघि बढ्न आग्रह गरिरहेका छौँ । सन् २०२४ जुन २२ को पाकिस्तान–कतार संयुक्त वक्तव्य र इस्लामावाद समझदारीको भावना अनुसार सबै असमझदारी र अवरोधहरू हटाउन पाकिस्तानले अधिकतम प्रयास गरिरहेको छ ।’
खाडी क्षेत्रको सुरक्षा अवस्था अझै पनि संवेदनशील रहेको उल्लेख गर्दै प्रवक्ता अन्ड्राबीले वार्ता र कूटनीति नै अगाडि बढ्ने एकमात्र व्यवहारिक मार्ग भएको बताउनु भयो । पाकिस्तानले शत्रुतापूर्ण वातावरणको अन्त्य गरी वार्ता पुनः शुरु गर्न भइरहेका प्रयासहरूको स्वागत गरेको छ । क्षेत्रीय शान्ति र स्थिरता प्रवद्र्धनका लागि इस्लामावादले आफ्नो भूमिका निरन्तर निर्वाह गरिरहने उहाँको भनाइ थियो । यसै सन्दर्भमा, पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ र साउदी अरबका युवराज एवं प्रधानमन्त्री मोहम्मद बिन सलमान अल साउदबीच हालै भएको भेटवार्तामा क्षेत्रीय शान्ति कायम राख्ने विषयमा सहमति भएको छ । दुवै नेताहरूले लाल सागर र हर्मुज जलडमरुमध्यबाट हुने कानूनी समुन्द्री व्यापारलाई निर्वाध रूपमा सञ्चालन सुनिश्चित गर्न निकट रहेर काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।





