होर्मुज जलडमरूमध्य नजिकै नौसैनिक उपस्थिति बढाउँदै दक्षिण कोरिया | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २० २०८३, शुक्रबार

होर्मुज जलडमरूमध्य नजिकै नौसैनिक उपस्थिति बढाउँदै दक्षिण कोरिया

दक्षिण कोरियाले समुन्द्री डकैती नियन्त्रणका लागि अदनको खाडीमा तैनाथ आफ्नो नौसैनिक एकाइ ‘चेओङ्हे युनिट’ को कार्यक्षेत्र विस्तार गरी होर्मुज जलडमरूमध्य नजिकै पु¥याउने योजना बनाएको छ । दक्षिण कोरियाली समाचार संस्था योनहापकाअनुसार ओमानको दक्षिणी समुन्द्री क्षेत्रमा समेत आफ्नो नौसैनिक उपस्थिति विस्तार गर्ने तयारी दक्षिण कोरियाले गरेको हो । यसका लागि समुन्द्री गस्ती विमान र विस्फोटक पदार्थ निष्क्रिय पार्ने (ईओडी) टोलीसहित थप सैन्य उपकरण परिचालन गरिनेछ । होर्मुज जलडमरूमध्यमा भविष्यमा हुनसक्ने अन्तर्राष्ट्रिय समुद्री बारुदी सुरुङ निष्क्रिय पार्ने अभियानमा सहभागी हुने सम्भावनालाई ध्यानमा राखेर पनि उक्त तयारी गरिएको समाचारमा उल्लेख छ । यसका लागि मानवरहित समुद्री बारुदी सुरुङ पहिचान तथा निष्क्रिय पार्ने उपकरणसमेत परिचालन गरिनेछ । दक्षिण कोरियाको रक्षा मन्त्रालयले उक्त योजनाबारे आएको समाचारको पुष्टि गरेको छ । मन्त्रालयले कार्यक्षेत्र विस्तार र थप सैन्य उपकरण परिचालनसम्बन्धी संशोधित प्रस्ताव राष्ट्रिय सभामा पेस गर्ने तयारी गरेको जनाएको छ  । उक्त प्रश्ताव उपमन्त्रीस्तरीय बैठकबाट पारित भइसकेको छ । आगामी साता मन्त्रिपरिषद् बैठक र राष्ट्रपतिको अनुमोदनपछि प्रश्ताव संसद्मा पेस गरिनेछ । सन् २००९ देखि अदनको खाडीमा परिचालित चेओङ्हे युनिटको मुख्य जिम्मेवारी समुन्द्री डकैती नियन्त्रण र व्यापारिक जहाजको सुरक्षा गर्नु हो । हाल यस युनिटसँग ४ हजार ४०० टन क्षमताको एक विध्वंसक युद्धपोत, एउटा समुन्द्री निगरानी हेलिकप्टर र तीन वटासम्म द्रुत गतिका साना डुङ्गा छन् । यसमा अधिकतम ३२० जना सुरक्षाकर्मी परिचालित छन् । नयाँ योजनाअनुसार दक्षिण कोरियाले अत्याधुनिक पी–८ए समुद्री गस्ती विमान, मानवरहित पानीमुनि सञ्चालन हुने यान, मानवरहित सतही यान तथा टाढाबाट सञ्चालन गर्न सकिने उपकरण थप गर्नेछ । ती उपकरण सञ्चालनका लागि विस्फोटक पदार्थ निष्क्रिय पार्ने विशेष टोलीसमेत परिचालन गरिने जनाइएको छ ।

Leave a Reply