समुन्द्री ढुवानी संयन्त्र सुदृढ गर्न संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान | ईमाउण्टेन समाचार

Our Network

भदौ ९ २०८३, बुधवार

समुन्द्री ढुवानी संयन्त्र सुदृढ गर्न संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान

काठमाडौं ।  संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विभिन्न सामुन्द्रिक नाकाहरू (चोक पोइन्ट्स) बाट अत्यावश्यक वस्तुहरूको सुरक्षित ढुवानी सुनिश्चित गर्न एक ‘विश्वास निर्माण संयन्त्र’ निर्माणका लागि संवद्ध पक्षहरूसँग सहयोगको आह्वान गर्नुभएको छ । सञ्चारकर्मीहरूसँग कुरा गर्दै महासचिव गुटेरेसले होर्मुज जलडमरूमध्यको संकट सम्बोधनका लागि गत मार्चमा गठित कार्यदलले एक व्यावहारिक र समयवद्ध संयन्त्रको विकास गरेको जानकारी दिनुभयो । यो संयन्त्र प्रारम्भिक रूपमा रासायनिक मल र सोसँग सम्बन्धित कच्चा पदार्थको ढुवानीमा केन्द्रित हुने र पछि अन्य उत्पादनहरूमा पनि विस्तार गर्न सकिने उहाँले स्पष्ट पार्नुभयो । यो संयन्त्रको मुख्य उद्देश्य तत्कालका जोखिमहरू न्युनिकरण गर्ने, ढुवानी प्रक्रियालाई व्यवस्थित र अनुमानयोग्य बनाउने तथा कुटनीतिक संवाद र तनाव कम गर्न आवश्यक विश्वासको वातावरण पुनःनिर्माण गर्नु रहेको महासचिवको भनाइ छ ।
विशेष गरी सामुन्द्रिक मार्गमा अवरोध हुँदा बढी जोखिममा पर्ने मुलुकहरूबाट यस प्रयासमा उत्साहजनक समर्थन प्राप्त भएको उहाँले बताउनु भयो । अब यसलाई कार्यान्वयनमा लैजान संवद्ध पक्षहरूको राजनीतिक इच्छाशक्ति र सहयोग अपरिहार्य रहेकोमा उहाँले जोड दिनुभयो ।
होर्मुज जलडमरूमध्य र लाल सागरमा भइरहेका निरन्तरका आक्रमण र अवरोधका कारण ऊर्जा, मल र अन्य आधारभूत सामग्रीको ढुवानीमा गम्भीर असर परेको छ । त्यसैगरी, युक्रेन द्वन्द्वका कारण तेल, खाद्यान्न र कृषि उपज निर्यातका लागि महत्वपूर्ण मानिने सामुद्रिक मार्गहरू पनि खतरामा परेको उहाँले उल्लेख गर्नुभयो ।
महासचिवले सामुन्द्रिक मार्गको स्वतन्त्रता र अधिकारहरू अन्तर्राष्ट्रिय शान्ति, सुरक्षा र अर्बौँ मानिसको जीवन निर्भर रहने खाद्यान्न एवं ऊर्जाको प्रवाहका लागि अत्यावश्यक रहेको बताउनु भयो । उहाँले अन्तर्राष्ट्रिय समुन्द्री कानून र मानवीय कानुनको पूर्ण पालना गर्न, नागरिक जहाज र पूर्वाधारको रक्षा गर्न तथा कृष्ण सागर, होर्मुज र लाल सागर क्षेत्रमा भइरहेका आक्रमणहरू तत्काल बन्द गर्न माग गर्नुभएको छ ।

Leave a Reply