टर्कीको पश्चिमी प्रान्त अफ्योनकाराहिसारको इहसानिये जिल्लामा बिहीवार भएको श्रृंखलावद्ध गोलीबारीमा कम्तीमा आठ जनाको मृत्यु भएको छ । एक बन्दुकधारीले तीनवटा छुट्टाछुट्टै गाउँमा अन्धाधुन्ध गोली चलाउँदा उक्त मानवीय क्षति भएको हो । स्थानीय सञ्चारमाध्यम एनटिभीकाअनुसार आक्रमणकारीले साँझको समयमा इहसानियेको एक ग्रामीण सडकमा पहिलो आक्रमण गरेका थिए । सो क्रममा उनले पम्प–एक्सन सटगन प्रयोग गरी तीन महिलाको हत्या गरेका थिए । हत्यापछि आक्रमणकारी रातो रङको व्यावसायिक सवारी साधनमा चढेर फरार भएका थिए । फरार हुने क्रममा उनले दोस्रो गाउँमा थप तीन जना र तेस्रो गाउँमा दुई जनाको हत्या गरेका थिए । आक्रमणको प्रकृति हेर्दा यो निकै योजनावद्ध र डरलाग्दो रहेको स्थानीय अधिकारीहरूले जनाएका छन् ।
यसैबीच, प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानले सोही दिन दिउँसो शहरको केन्द्रमा भएको अर्को एक गोलीबारीको घटनासँग पनि यी आक्रमणकारीको सम्बन्ध हुन सक्ने आशंका गरेको छ । उक्त दिउँसोको घटनामा एक महिला गम्भीर घाइते भएकी थिइन्, जसलाई हाल अस्पताल भर्ना गरिएको छ ।
अहिले टर्कीका कुताह्या, एस्किसेहिर र अफ्योनकाराहिसार प्रान्तका सीमावर्ती क्षेत्रहरूमा आक्रमणकारीको व्यापक खोजी भइरहेको छ । सुरक्षा निकायले घटनाको गम्भीरतालाई ध्यानमा राख्दै उच्च शतर्कता अपनाएको छ र फरार आक्रमणकारीको सुराग पत्ता लगाउन ठूलो मात्रामा प्रहरी परिचालन गरिएको छ ।




