टर्कीको रेल पूर्वाधार आधुनिकीकरणका लागि ३५ करोड युरोको सम्झौता | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २० २०८३, शुक्रबार

टर्कीको रेल पूर्वाधार आधुनिकीकरणका लागि ३५ करोड युरोको सम्झौता

टर्कीले आफ्नो रेलवे पूर्वाधारलाई थप सुरक्षित, आधुनिक र दिगो बनाउने उद्देश्यले एशियाली पूर्वाधार लगानी बैंकसँग ३५ करोड युरो (करिव ३९ करोड ३० लाख अमेरिकी डलर) को वित्तीय सम्झौता गरेको छ । टर्कीका यातायात तथा पूर्वाधार मन्त्री अब्दुलकादिर उरालोग्लुले बिहीवार उक्त सम्झौता सार्वजनिक गर्दै यसलाई देशको रेलवे क्षेत्रमा नयाँ युगको शुरुवातको संज्ञा दिएका छन् । टर्कीको राज्य रेलवेको आधिकारिक वेबसाइटमा प्रकाशित विज्ञप्तिअनुसार यो ऋण सहायता मुख्यतया टिसिडिडि रेलवे मर्मत आधुनिकीकरण परियोजना’का लागि उपयोग गरिनेछ । सरकारले यस परियोजनालाई टर्कीको यातायात सञ्जाललाई अन्तर्राष्ट्रिय स्तरको बनाउने रणनीतिक प्रयासको रूपमा हेरेको छ । परियोजनाको मुख्य आकर्षणका रूपमा टिसिडिडिले ९९ वटा नयाँ पुस्ताका मर्मत मेसिनहरू खरिद गर्नेछ । यी अत्याधुनिक उपकरणहरूले टर्कीका रेलवे लाइन, स्विच र क्याटेनरी प्रणालीहरूको मर्मत सम्भारमा उल्लेख्य भूमिका खेल्नेछन् । मन्त्री उरालोग्लुले यो लगानीले रेल यातायातको सुरक्षामा सुधार ल्याउनुका साथै सञ्चालन खर्च घटाउन र पूर्वाधारको दीर्घकालीन टिकाउपन बढाउन सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।
सन् २०१६ मा स्थापना भएको एसियाली पूर्वाधार लगानी बैंक एशियाली क्षेत्रको दिगो आर्थिक विकास, पूर्वाधार निर्माण र आर्थिक समृद्धि अभिवृद्धि गर्ने उद्देश्य बोकेको बहुपक्षीय संस्था हो । पूर्वाधार क्षेत्रमा उत्पादकत्व बढाउन र कनेक्टिभिटी विस्तार गर्न टर्कीसँग भएको यो साझेदारीलाई एआइआइबीको लगानी प्राथमिकताको पछिल्लो कडीका रूपमा लिइएको छ ।

Leave a Reply