जोर्डनको राजधानी अम्मानमा भएको चक्कु आक्रमणमा एक सुरक्षाकर्मीको मृत्यु भएको छ। घटनामा अर्का एक सुरक्षाकर्मी घाइते भएका छन् । जोर्डनको सार्वजनिक सुरक्षा निर्देशनालय (पीएसडी) काअनुसार बिहीवार दिउँसो आफ्नो आधिकारिक जिम्मेवारीमा खटिएका सुरक्षाकर्मीमाथि एक व्यक्तिले धारिलो हतियारले आक्रमण गरेका थिए । स्थानीय समयअनुसार दिउँसो १२ः२० बजे भएको उक्त घटनामा गम्भीर घाइते भएका सुरक्षाकर्मीलाई तत्काल अस्पताल पु¥याइएको थियो । तर, उपचारका क्रममा केही समयपछि उनको मृत्यु भएको पीएसडीले जनाएको छ । घटनालगत्तै सुरक्षाकर्मीको गस्ती टोलीले आक्रमणकारीलाई नियन्त्रणमा लिएको थियो । आक्रमणकारीलाई पक्राउ गर्ने क्रममा गस्ती टोलीका एक अधिकारीको अनुहारमा चोट लागेको छ । घाइते अधिकारीको अवस्था स्थिर रहेको र उनको अस्पतालमा उपचार भइरहेको जनाइएको छ । प्रारम्भिक अनुसन्धानबाट आक्रमणकारीले सार्वजनिक सुरक्षा निकायका कर्मचारीलाई लक्षित गरी आतङ्कवादी आक्रमण गर्ने योजना बनाएको खुलेको पीएसडीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।




