सुदूरपश्चिम प्रदेशमा विकास बजेट खर्च नहुँदा सांसदहरुको असन्तुष्टि | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

सुदूरपश्चिम प्रदेशमा विकास बजेट खर्च नहुँदा सांसदहरुको असन्तुष्टि

तेज बोहरा
कैलाली, २६ माघ । सुदूरपश्चिम प्रदेशमा प्रतिपक्षी दल नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टीका प्रदेशसभा सदस्यहरुले पुँजीगत बजेट खर्चको अवस्था निराशाजनक रहेको भन्दै सरकारको आलोचना गरेका छन् ।

सरकारले प्रदेशको विकासतर्फ ध्यान नदिएका कारण ६ महिना बितिसक्दा पनि पुँजीगत बजेट खर्चको अवस्था सन्तोषजनक नदेखिएको उनीहरुको आरोप छ । नेपाली काँग्रेस प्रदेश सभा सांसद भरत बहादुर खड्काले चालु आर्थिक वर्षको ६ महिनासम्म पनि सुदूरपश्चिम प्रदेश सरकारको पुँजीगत बजेट खर्च न्युन देखिएको बताए ।

६ महिना बितिसक्दा समेत विकास निर्माणका योजनाहरु सुरु हुन सकेका छैनन् । ६ महिनाको अवधीमा प्रदेश सरकारको कुल बजेटको ५ प्रतिशत मात्रै बजेट खर्च भएको पाइएको छ । प्रदेश सभा सांसद टेक बहादुर रैकाले बजेट खर्च गर्नमा प्रदेश सरकारले कुनै चाँसो नदिएको बताए । सरकारसँंग पर्याप्त मात्रामा बजेट तथा कार्यक्रम भएपनि काम गर्नमा चाँसो नदिएको सांसदहरुको आरोप छ ।

सुदूरश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयका प्रवक्ता मान बहादुर बिष्ट पनि प्रदेश सरकारले पुँजीगत बजेट खर्च गर्न नसकेको स्वीकार गर्छन् । बिष्टका अनुसार कर्मचारी समायोजन नहुँदा र सरकारले कानुन नबनाउँदा बजेट खर्च हुन ढिलाई भएको हो ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले प्रदेश सरकारसंग कर्मचारी अभावले बजेट खर्चदेखि विकास निमार्णका योजना सुचारु गर्नमा ढिलाई भएको बताए । प्रदेश सरकारले कर्मचारी अभावको कारणले करारमा कर्मचारी समेत भर्ना गर्न लागेको मन्त्री बोहराले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेश सरकारको गत आर्थिक बर्षमा पनि बजेट खर्च न्युन देखिएको थियो । जसले गर्दा प्रदेशमा विकास निर्माणका कामहरु सञ्चालन हुन सकेनन् । यस आर्थिक बर्षको प्रथम चौमासिकसम्ममा पनि सरकारले पुँजीगत बजेट खर्च गर्न नसक्नु दु:खको बिषय बनेको स्थानीयको गुनासो छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);