फूलमाया आले
काठमाडौं, २५ माघ । बागमती नदीलाई सफाइ गर्न शुरु गरिएको अभियान शनिबार ३ सय औँ हप्ता पुग्दैछ । सरकारले ३ सय औं हप्ता पुगेको अवसरमा शनिवार विहान ८ बजे शंखमूलमा आयोजित विशेष कार्यक्रममा उपस्थिती हुन सवैलाई आग्रह समेत गरेको छ ।
२०७० साल जेठ ५ गतेबाट बागमती नदीलाई सफा राख्न शुरु गरिएको सफाइ अभियान शनिबार ३ सय औँ हप्ता पुरा हुँदैछ छ । यो अवधिमा करिब १० लाख हातहरु बाग्मती सरसफाईमा सहभागी भएका छन् ।
स्कुले विद्यार्थीदेखि नेपाली सेना र विभिन्न संस्थाका प्रतिनिधि एवं सर्वसाधारणको सक्रियताकै कारण वाग्मती नदीबाट ३ सय हप्ताको अवधिमा १८ हजार टन फोहोर निकालिएको छ । करिब साढे पाँच वर्षको अवधिमा सरसफाईमा खर्च नभएपनि गुहेश्वरीमा रहेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको कार्यालय रहेको भवन निर्माण, पानी प्रशोधनका लागि जग्गा अधिग्रहण, वृक्षारोपण र ढल व्यवस्थापन लगायतका लागि लगभग ७ अर्ब रुपैयाँ खर्च भएको अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले जानकारी दिएको छ ।
बाग्मती सफाई महाअभियानमा सुरुका दिनमा केही संस्था मात्र सहभागी भएका थिए । तर, पछिल्लो समय त्यो संख्या बढेर अहिले १ हजार ८ सय भन्दा बढि संघ, संस्थाहरु सहभागी भएको विकास समितिले जनाएको छ ।
समितिले अहिले बाग्मतीका अन्य सहायक नदीमा पनि सरसफाई अभियान सञ्चालन गरिरहेको छ । बाग्मतीलाई ढल मुक्त गर्ने उद्देश्यका साथ बाग्मती सफाई अभियान सुरु गरिएपनि राजधानीवासीले नदीमा अझै ढल मिसाउन र फोहोर फ्याक्न बन्द नगर्दा उद्देश्य अनुरुपको सफलता हासिल हुन सकेको छैन ।
साथै बाग्मती किनारमा रहेका सुकुम्बासी बस्तीलाई अन्य ठाउँमा स्थानान्तरण नगरेसम्म र उपत्यकाबासी स्वतस्फूर्त ढंगले आफै सचेत नभएसम्म सफाई अभियानले सफलता पाउन नसक्ने विकास समितिको भनाई छ ।
त्यस्तै बाग्मती सफाई महाअभियान सुरु गरिएको ३ सय औं हप्ता पुगेको अवसर पारेर बाग्मती मनोहरा दोभान शंखमूलमा शनिबार विशेष कार्यक्रम आयोजना गरिने सहरी विकास मन्त्रालयले जनाएको छ ।
सहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राईले ‘स्वच्छता मेरो पहिचान, सफाईमा मेरो योगदान’ भन्ने नारासहित आयोजना गर्न लागिएको कार्यक्रम बिहान साढे ८ बजेबाट सुरु हुने भएकाले सवैलाई उपस्थितीका लागि आग्रह गरेका छन् ।
तत्कालिन मुख्य सचिव लिलामणी पौडेलको अग्रसरतामा सुरु भएको बाग्मती नदी सफाइ अभियान प्रत्येक शनिबार बिहान २ घण्टासम्म सञ्चालन हुँदै आएको छ । यो अभियानमा विभिन्न निकायबाट प्रत्येक शनिबार सयौँको संख्यामा जनशक्ति परिचालन हुँदै आएको छ ।
, काठमाडौं ।