काठमाडौं, ६ माघ । प्रहरीले सार्वजनिक यातायातमा हुने महिला तथा बालबालिकामाथिको हिंसा अन्त्यका लागि अभियान संचालन गर्ने भएको छ ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सार्वजनिक यातायातमा हुने महिला तथा बालबालिकाको हिंसा अन्त्यका लागि अभियाननै संचालन गर्ने घोषणा गर्नु भएको हो । उहाँले त्यसका लागि महिला संजाल र महिला तथा बालबालिकाको क्षेत्रमा कार्यरत संघ, संस्थाहरुसँग सहकार्य गरेर अघि बढने योजना रहेको उल्लेख गरे ।
आईतबार महानगरीय प्रहरी परिसर, टेकूको हाताभित्र निर्माण गरिएको नागरिक सहायता कक्ष भवनको उद्घाटन कार्यक्रममा महानिरीक्षक खनालले नेपाल प्रहरीले शान्ति सुरक्षालाई सुदृढ बनाउने र समाजको विकासमा पनि योगदान गर्दै लैजाने योजना एकैसाथ अघि बढाउन चाहेको समेत स्पष्ट पार्नु भयो । उनले नागरिकको सहायता बिना नेपाल प्रहरीले अपराध अनुसन्धानलगायतका कुनै पनि दायित्व पूरा गर्न नसक्ने उल्लेख गरे ।
प्रहरी महानिरीक्षक खनालले नेपालमा प्रहरी र नागरिक समाजबीचको सम्बन्ध विकसित देशहरुको भन्दा सुमधुर रहेको बताउनु भयो । उक्त भवन नेपाल बंगलादेश बैंकको १९ लाख ५० हजार आर्थिक सहायतामा निर्माण गरिएको हो ।