काठमाडौं, ५ माघ । अनसनरत चिकित्सक डाक्टर गोविन्द केसीको समर्थनमा राजधानी काठमाडौंमा प्रदर्शन गरिएको छ । सोलिडारिटी फर डाक्टर केसी अलायन्सको नेतृत्वमा राजधानीको माईतिघर मण्डलामा डाक्टर केसीका समर्थकले प्रदर्शन गरेका हुन् ।
‘माफिया मुखि ऐन चाहिँदैन’, ‘३ करोड नेपालीलाई धोका दिने कहिलेसम्म’ लेखिएको व्यानरमा भेला भएका डाक्टर केसीका समर्थकले सरकार विरोधी चर्का नारा लगाएका छन् । सहमति गरेर कार्यान्वय नगर्ने सरकार माफियासंग मिलेको उनीहरुले आरोप लगाए ।
सम्झौता कार्यान्वयन नगरेर सरकारले नै समस्या श्रृजना गरेको सहभागीले आरोप लगाए । प्रदर्शनमा सहभागी वरिष्ठ अधिवक्ता डाक्टर सुरेन्द्र भण्डारीले डाक्टर केसीको माग सम्बोधनका बारेमा प्रधामन्त्री केपी ओलीले शुक्रबार संसदमा दिएको अभिव्यक्ति गलत मनसायबाट प्रेरित भएको टिप्पणी गरेका छन् ।

वरिष्ठ अधिवक्ता भण्डारीले वाईड विमान खरिद प्रकरणमा आफ्ना मन्त्रीलाई जोगाउन संसदीय समितिलाई दबाब दिने सरकारले आफैले गरेको सम्झौतालाई कार्यान्वयन गर्ने सवालमा संसदको सर्वोच्चताको कुरा गर्नु उपयुक्त तर्क नभएको बताए ।
डाक्टर केसीको मागमा ऐक्यवद्धता जनाउन भेला भएका समर्थकले ‘ओली सरकारको मन्त्री झुटतन्त्र’, ‘चरेशको थालमा मार्सीको भात, माफियाका ताँती ओली सरकारका साथी’, एक दुई तिन चार, हामी मान्ने छैनौ हार’ लगायत नारा लगाएका थिए । उनीहरुले माइतीघर मण्डला देखि नयाँ वानेश्वर सम्म र्याली पनि निकाले ।
सहमति कार्यान्वयको माग गर्दै इलाम पुगेर १६ आैं सत्याग्रह सुरु गरेका डाक्टर केसीको स्वास्थ्य स्थिति विग्रदै गएपछि उनका समर्थकको प्रयासमा राजधानी ल्याई महाराजगञ्ज स्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भईरहेको छ ।




