सरकार संसदप्रति उत्तरदायी भएन, बदलाको राजनीतिले सुशासन आउँदैनः निधी | ईमाउण्टेन समाचार

Our Network

भदौ ६ २०८३, आइतबार

सरकार संसदप्रति उत्तरदायी भएन, बदलाको राजनीतिले सुशासन आउँदैनः निधी

काठमाडौं ।

नेपाली काँग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान सरकार संसद र जनताप्रति उत्तरदायी हुन नसकेको आरोप लगाउनुभएको छ ।जनकपुरधाममा आयोजित नेपाली काँग्रेसको १५ औँ महाधिवेशन लक्षित अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता निधीले सरकारले संसदीय गरिमा र जवाफदेहितालाई उपेक्षा गरेको बताउनुभएको हो । नेता निधीले लोकतन्त्रमा सरकारको वैधता र प्रभावकारिता संसदप्रतिको उत्तरदायित्वमा निर्भर रहने उल्लेख गर्नुभयो । शासन सञ्चालनका सन्दर्भमा सरकारले प्रदर्शन गरेको कार्यशैलीप्रति टिप्पणी गर्दै उहाँले बदलाको भावनाले राजनीति नगर्न चेतावनी दिनुभयो । सरकारले पूर्वाग्रह राखेर अभियोग लगाउने तर अदालतले सफाइ दिने क्रम बढेको बताउनु भयो ।

नेता निधीले संघीयता कार्यान्वयनको पक्षमा समेत सरकार गम्भीर नभएको बताउनु भयो । प्रदेश सरकार गठन भएको लामो समय भइसक्दा पनि प्रदेशले आफ्नै प्रहरी प्रशासन र कर्मचारी संयन्त्र नपाउनु दुःखद् भएको उहाँको भनाइ छ । पार्टीको आन्तरिक मामिला र आगामी महाधिवेशनका सन्दर्भमा बोल्दै निधीले पार्टी एकता र विधि विधानको पालनामा जोड दिनुभयो । कानूनी र प्राविधिक विषयहरूमा अदालतबाट हुने पुनरावलोकनले सकारात्मक परिणाम दिनेमा आफू विश्वस्त रहेको उहाँले बताउनु भयो । पार्टी एकताका लागि महाधिवेशनलाई उपयोग गर्नुपर्ने र कार्यकर्ताहरूलाई गाउँ तथा वडा तहसम्म पुगेर संगठन सुदृढीकरणमा लाग्न उहाँले निर्देशन दिनुभयो ।

Leave a Reply

ताजा समाचार