काठमाडौं ।
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी र सरकारका गतिविधिले मुलुकको लोकतन्त्र कमजोर नहोस् भन्नेकुरामा आफूहरु सचेत हुनुपर्ने बताउनुभएको छ । आईतवार राजधानी काठमाडौंमा आयोजित पार्टीको ‘नीति, संगठन र नेतृत्व’ कार्यशालालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफ्नो क्रियाकलापका कारण मुलुकको लोकतन्त्र कमजोर हुन नदिन अत्यन्त जिम्मेवार बन्न आम नेता कार्यकर्तालाई आग्रह समेत गर्नुभयो । उहाँले आज विभिन्न संस्थाहरु डराएको उल्लेख गर्दै संस्थाहरु भत्किँदै गए लोकतन्त्र समेत संकटमा पर्ने बताउनु भयो ।
सभापति लामिछानेले लोकतन्त्र एकैपटक ध्वस्त हुने सानो घर नभएको समेत टिप्पणी गर्नुभयो । शहीदहरूको बलिदान र राजनीतिक दलहरूको संघर्षबाट प्राप्त लोकतन्त्र निकै बलियो रहेको समेत बताउनु भयो ।उहाँले पुराना राजनीतिक दलहरुले लोकतन्त्रलाई मजबुत बनाएर आफूहरुलाई जिम्मा लगाएको भन्दै लोकतन्त्र कमजोर बनाएको इतिहास लेखाउने मार्गमा नजान जिम्मेवार भएर काम गर्नुपर्ने बताउनु भयो ।




