काठमाडौं ।
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले कुष्ठरोग प्रभावित व्यक्तिले भोग्नुपरेको सामाजिक विभेद र बहिष्कार अन्त्य गर्न राज्य गम्भीर हुनुपर्ने बताउनुभएको छ । आईतवार काठमाडौंमा नेपाल कानून समाज, एशोसिएशन फर आइडिया नेपाल, कुष्ठरोग निवारण संघ, राष्ट्रिय कुष्ठ प्रभावित कल्याण संघ र पुनःस्थापना, सशक्तिकरण तथा विकास नेपालले राजधानीमा आयोजना गरेको कुष्ठ प्रभावित व्यक्तिहरुको कानूनी साक्षरता तथा क्षमता अभिवृद्धि अभिुखिकरण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कुष्ठरोग प्रभावित भएकै कारण शिक्षा, स्वास्थ्य, रोजगारी तथा समाजबाट अलग हुनुपर्ने अवस्था अन्त्य गर्न सरकारले कानूनी प्रवन्ध मिलाउनुपर्ने बताउनु भयो । श्रेष्ठले कुष्ठरोगलाई स्वास्थ्य समस्याका रूपमा नियन्त्रण तथा उन्मूलनतर्फ लैजान सफलता मिलेपनि कुष्ठरोग प्रभावित व्यक्तिले भोग्नुपरेको सामाजिक विभेद, बहिष्कार र आत्मसम्मानमाथिको चोट कायमै रहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले राज्यले लामो समयसम्म कुष्ठरोगलाई सार्वजनिक स्वास्थ्य समस्याका रूपमा लिएर उन्मुलन गर्न सफल भएपनि प्रभावित व्यक्तिले जीवनभर समस्या भोगिरहेको उल्लेख गर्नुभयो ।
उहाँले कुष्ठरोग प्रभावित व्यक्तिका लागि सम्मानजनक रोजगारी, आयआर्जन, क्षमता विकास र समाजमा पुनः एकीकरणका पर्याप्त अवसर सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो । रोग निको भइसकेपछि पनि आफ्नो विगत सार्वजनिक गर्न नसक्ने, पहिचान लुकाउनुपर्ने र समाजबाट बहिष्कृत हुने अवस्था अन्त्य गर्न सरोकारवाला सबैले गम्भीरतापूर्वक काम गर्नुपर्नेमा उहाँको भनाइ छ ।उहाँले प्रभावित व्यक्तिको आत्मसम्मान र अधिकार सुनिश्चित गर्न समाज, कानून, राज्य र प्रणालीले सम्मानजनक अवसर सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।





