२०१८ मा घटेका विश्व चर्चित घटनाहरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

२०१८ मा घटेका विश्व चर्चित घटनाहरु

trump- kim

काठमाडौं, १७ पुस । अघिल्ला वर्षहरु झैं सन् २०१८ पनि उतारचढावमय नै भयो । यस वर्ष धेरै जसो घटनाको केन्द्रमा अमेरिका रह्यो । अमेरिका र चीनबीच छेडिएको व्यापार युद्धका कारण वर्षको उत्तरार्द्धमा विश्व शेयर र कमोडिटिज बजारमा प्रत्यक्ष प्रभाव पर्‍यो । साउदी अरेबिया, फ्रान्स, श्रीलङ्का, पाकिस्तानलगायत देश पनि विभिन्न घटनाक्रमका कारण विश्व संचारमाध्यममा छाइरहे । अघिल्ला वर्ष झैं यस वर्ष पनि राजनीतिक घटनाहरु धेरै भए । तर व्यापारिक, हिंसात्मक, आपराधिक लगायत घटनाहरुको चर्चा पनि कम भएन ।

२०१८ का प्रमुख घटना :

  •  मलेशियामा मोहम्मद महाथिरको पुनरागमन:
    मेमा भएको आम निर्वाचनमा मलेसियाका पूर्व प्रधानमन्त्री महाथिर मोहम्मदले डेढ दशकको अन्तरालपछि पुनः ९२ वर्षको उमेरमा फेरि देशको नेतृत्व सम्हाले । भ्रष्टाचारमा लिप्त देशलाई सुधारतर्फ लैजान उनले विभिन्न प्रयास गरेका छन् । उनकै चेलाका रुपमा राजनीति थालेका पूर्वप्रधानमन्त्री नजिब रजाक भने अहिले भ्रष्टाचारको आरोपमा जेलमा छन् ।

  • हकिङको मृत्युः
    प्रसिद्ध बेलायती वैज्ञानिक तथा ब्रम्हाण्डका ज्ञाता स्टेफेन हकिङको मार्च १४ मा क्याब्रिज स्थित घरमा ७६ वर्षको उमेरमा मृत्यु भयो । २२ वर्षको उमेरमै एमयोट्रोफिक लैटरल सेलेरोसिस रोग लागेर आजिवन ह्विल चेयरमा बाँधिए पनि हकिङले खगोल शास्त्रमा ठूलो योगदान दिए । उनले ‘ए ब्रिफ हिष्ट्री अफ टाइम’, द  ग्र्‍यान्ड डिजाइन, युनिभर्स इन नटशेल, द थ्योरी अफ एभ्रीथिङलगायत कयौं पुस्तक लेखेका छन् ।

  •  ट्रम्प ‘ट्रमा’ र अमेरिका बन्द:
    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सत्तामा आएको २ वर्ष हुन थालेको छ । तर यो समयमा पनि उनका कयौं अनपेक्षित व्यवहारका कारण उनी सधैं चर्चामा रहे । उनले न त सञ्चार माध्यमहरुसँग राम्रो सम्बन्ध स्थापित गर्न सके, न आफ्नै मन्त्री र कर्मचारीहरुलाई पूर्ण विश्वास गर्न सके । सत्तामा आएपछि उनले करीब डेढ दर्जन मन्त्री तथा मुख्य कर्मचारीहरुलाई बर्खास्त गरे भने कयौंले आफैं पद त्यागे । उत्तर कोरियासँगको नाटकीय सम्बन्ध बाहेक अन्य देशहरुसँगको सम्बन्धमा खासै सुधार आएन ।
    पछिल्लो समयमा मेक्सिकोको सीमामा ट्रम्पले भनेको बमोजिम पर्खाल बनाउने बजेट पारित नभएपछि अमेरिकामा आंशिक बन्दमा छ । कर्मचारी तलबबिहिन भएर घरमा बसिरहेका छन् । काम गरिरहेकाहरुले पनि बन्द खुलेर तलब कहिले पाउने भन्ने टुङ्गो छैन । ट्रम्प र कंग्रेसमा रहेको डेमोक्रेटहरुले एक अर्कालाई दोषरोपण गर्न थालेपनि आपूmले भनेको पूरा नभएसम्म बन्द लम्बाइदिने ट्रम्पको चेतावनीले थप अनिश्चय बढाएको छ । ट्रम्पको अनपेक्षित व्यवहारका कारण यस वर्ष अमेरिकी मात्रै होइन विश्व शेयर बजारमा समेत निकै उतारचढाव आयो ।

  • ब्रेजिक्टमा झुण्डिएको बेलायत :
    युरोपेली संघ (ईयू) बाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) बारे जनमत संग्रह भएर ब्रेक्जिटको पक्षमा मतदान भएको पनि साढे २ वर्ष बित्न थालिसक्यो । ब्रेक्जिटमा जाने कि ब्रेक्जिटको पछुतो गर्दै पुनः ईयूकै सदस्यता लिने भन्ने दोधारबाट बेलायत मुक्त हुन सकेको छैन । एकातिर बेलायती प्रधनामन्त्री थेरिजा मेले आफूले तयार पारेको ब्रेक्जिट सम्झौताबारे आफूनै पार्टीबाट बहुमत जुटाउन सकेकी छैनन् भने ईयूले पनि बेलायतले चाह्यो भने एकतर्फी रुपमा ब्रेक्जिट त्याग्न सक्छ भनेर पुनरागमनको बाटो खुलाइदिएको छ । औपचारिक रुपमा ईयूबाट बाहिरिने दिने नजिकिँदै गर्दा इयू छाड्ने प्रक्रिया कसरी टुंगेला भन्नेमा नै अनिश्चिय छ ।
  • पुटिनको चौथो कार्यकाल :
    रुसी राष्ट्रपतिका रुपमा भ्लादिमिर पुटिन यस बर्ष चौथो कार्यकालका लागि निर्वाचित भए । मार्च १८ मा भएको निर्वाचनबाट उनी अर्को ६ वर्षे कार्यकालका लागि राष्ट्रपति बनेका छन् । एउटै व्यक्ति दुई कार्यकालमात्र राष्ट्रपति बन्न पाउने कानूनी प्रावधान भएपनि पुटिन विगत १८ वर्षदेखि राष्ट्रपति वा प्रधानमन्त्रीका रूपमा सत्तामा छन् । पुटिनको वर्तमान कार्यकाल सन् २०२४ मा सकिदैंछ । त्यतिबेलासम्मको समय जोड्दा उनको शासन २५ वर्षको हुनेछ ।

  • अमेरिका र चीनको व्यापार युद्ध :
    चीन र अमेरिकाले एक अर्काको देशमा उत्पादित सामग्रीमाथि भन्सार तथा अन्य महसुल बढाउने क्रमसँगै दुबै देश व्यापार युद्धमा होमिए । चीनबाट आयातित साढे २ खर्ब डलरको वस्तु प्रभावित हुने गरी अमेरिकाले तीन चरणमा कर वृद्धि ग¥यो । उता, यसको प्रतिकारमा चीनले पनि अमेरिकाबाट आउने डेढ खर्ब बढीको वस्तुमा अतिरिक्त महसुल लगायो । अहिले ९० दिनको महसुल युद्ध स्थगन चलिरहेको छ । यस्तोमा दुबै देशले आपसी विवाद सुल्झाउनेतर्फ केही कदम पनि बढाएका छन् । तर यस अवधिमा उल्लेख्य प्रगति हुन सकेन भने अमेरिकाले चीनबाट आयातित ५ खर्ब डलर बढीका वस्तुमा महसुल बढाउने चेतावनी दिएको छ ।

  •  पत्रकार खशोग्जीको हत्या: 
    साउदी अरबका पत्रकार जमाल खशोग्जीको हत्या यस वर्ष निकै चर्चित बन्यो । साउदीका सुधारवादी राजकुमार मोहम्मद बिन सलमानका नीतिहरूको आलोचना गरेकै कारण अक्टोबर २ मा टर्कीको इस्तानबुलस्थित महावाणिज्य दूतावास उनको हत्या भएको विषयले लामो समयसम्म अन्तरराष्ट्रिय जगतमा चर्चामा बटुल्यो । खाशोग्जी दशकौँसम्म साउदी राजपरिवारको सल्लाहकारका रुपमा रहेका थिए । तर शाही परिवारसँगको सम्बन्ध बिग्रन थालेपछि अमेरिका बस्दै आएका उनको हत्यापछि भने अमेरिकालगायत देशहरुबाट पनि साउदीमाथि दबाब बढ्यो । यस मामिलाबारे अहिले पनि साउदीमाथिको चौतर्फी दबाब घटेको छैन ।

  • पेरिस विद्रोहः
    सरकारले इन्धनको करमा गरेको वृद्धिका कारण जीवनयापन महँगो हुने भन्दै पहेँलो भेष्ट धारीहरुले गरेको आन्दोलनले पेरिस विश्व जगतमा चर्चामा आयो । राजधानी पेरिसलगायत स्थानहरुमा नोभेम्बर १७ देखि शुरु भएको विद्रोह अन्ततः हिंसात्मक गतिविधिमा परिणत भयो । विरोध प्रदर्शनका कारण त्यहाँका शताब्दियौं पुराना स्मारकहरुमा पनि क्षति पुग्यो । केही सिप नलागेर कर वृद्धि थाँती राख्न राष्ट्रपति इम्यानुएल म्याक्रोँ बाध्य छए । प्रदर्शनका कारण ३४ लाख डलर देखि ४५ लाद डलरसम्म धनजन क्षति भएको अनुमान गरिएको छ । अहिले भने स्थिति केही शान्त देखिएको छ ।

  • सिरियाबाट अमेरिकी सेनाको फिर्ती : 
    अमेरिकी राष्ट्रपति ट्रम्पले इस्लामिक स्टेट विरुद्धको युद्ध समाप्त भएको भन्दै डिसेम्बर १९ मा सिरियामा तैनाथ करीब २ हजार ६ सय अमेरिकी सेना फिर्ता गर्ने घोषणा गरे । फिर्तीसम्बन्धी आदेशमा पनि हस्ताक्षर भइसकेको छ । उनको यो कदमको फ्रान्सलगायत देशहरुले निकै विरोध पनि गरे । सिरियाबाट सेना फर्किए पनि इराक र अफगानिस्तानमा रहेका अमेरिकी सेनाको फिर्ती भने अन्यौलमै छ ।
  • श्रीलंका संकट: 
    श्रीलंकामा राष्ट्रपति मैत्रीपाला सिरिसेनाले अक्टोबर २६ मा बहालवाला प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई बर्खास्त गरेर पूर्व राष्ट्रपति महिन्दा राजापाक्षलाई प्रधानमन्त्री नियुक्त गरे । राजापाक्षेको पक्षमा बहुमत जुटाउन नसक्ने देखिएपछि उनले संसदको बैठकलाई पनि स्थगित पनि गरे । विक्रमसिङ्गे र राजापाक्षे दुबैले आफूलाई प्रधानमन्त्री दाबी गर्न थालेपछि त्यहाँ हप्तौंसम्म संवैधानिक संकट उत्पन्न भयो । बाहलवाला प्रधानमन्त्रीलाई बर्खास्त गर्ने र अर्को व्यक्तिलाई नियुक्त गर्ने कदम अवैध भएको भन्दै अदालत र संसद दुबैले राष्ट्रपतिको निर्णय खारेज गरेपछि अहिले स्थिति साम्य भएको छ ।
  • कार्लोस गोनको पक्राउ
    जापानी अटो निर्माता कम्पनी निशानका अध्यक्ष कार्लोस गोनमाथिको आर्थिक अनियमितताको आरोप र उनको पक्राउले पनि धेरै नै चर्चा पायो । टाट पल्टिसकेको जापानी कम्पनी निशानलाई नाफामा ल्याएर फ्रान्सेली कम्पनी रेनोसँग साझेदारी गराएर यसमा मित्सुबिसी पनि गाँभेर विश्वको सबैभन्दा ठूला अटो अलायन्स गठन गरेको गोनको पक्राउले अटो उद्योग नै अचम्भित भयो । वर्षौसम्म तलब कम देखाएको र कम्पनीको सम्पत्ति दुरुपयोग गरेको आरोपमा गोन नोभेम्बर १९ यता टोकियोमा हिरासतमै छन् । टोकियोको पछिल्लो कदमले रेनो–निशान–मित्सुबिसी अलायन्सको भविष्य धरापमा परेको छ भने गोनको भविष्य के हुने हो भन्ने पनि अनिश्चत नै छ ।

अन्त्यमा, जलवायु परिवर्तन सम्बन्धी विश्व सम्मेलन, सिरिया, यमन, अफगानिस्तान आदिमा जारी द्वन्द्व, पाकिस्तानमा पूर्वप्रधानमन्त्री नवाज शरिफलाई छोरीसहित जेल चलानका खबर पनि यस वर्ष निकै चर्चामा रहे । शरिफको पतनपछि क्रिकेट खेलाडी इमरान खानले सत्तारोहण गरेपनि पाकिस्तानी संकट थामिने नाम छैन । हलिउड, बलिउड र कर्पोरेट जगतमा शुरु भएको ‘मि–टू’ अभियानको पासोमा कयौं नामचलेका हस्तीहरुको नाम मुछिएको खबरले पनि धेरैको ध्यान आकर्षित गर्‍यो । इन्डोनेशियामा दुई हजारको ज्यान जाने गरी आएको भूकम्प, बंगलादेशको निर्वाचनमा प्रधानमन्त्री शेख हसिनाको एकतर्फी विजय, आदिले पनि क्षेत्रीय र अन्तरराष्ट्रिय चर्चा पाए ।

अन्तरराष्ट्रिय बजारमा केही हप्ताको बीचमा कच्चा तेलको भाउमा करीब एक तिहाई कमी आयो । अमेरिकाले इरानमाथि प्रतिबन्ध लगाएपछि आपूर्ति अभाव हुने चिन्तामा तेलको भाउ बढेको थियो । तर अमेरिका, रुस लगायतका देशको अत्यधिक आपूर्तिका बीच विश्वको आर्थिक वृद्धिदर सुस्ताउने चिन्ताका कारण तेलको भाउ नोभेम्बरको अन्त्यतिर तेलको भाउ एक वर्षयताकै न्यून विन्दु अर्थात् ५० डलरमा आयो । तेलको भाउ घट्न थालेपछि भारत र नेपालमा पनि तेलको भाउ सस्तिएको छ ।  (एजेन्सीको सहयोगमा)

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);