महतोले भने 'टोल टोलमा पुग्नुपर्ने सरकार पोल पोलमा पुगि राछ' | ईमाउण्टेन समाचार

Our Network

चैत २९ २०८०, बिहीबार

महतोले भने ‘टोल टोलमा पुग्नुपर्ने सरकार पोल पोलमा पुगि राछ’

काठमाडाैं, ११ पुस । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले सरकारको व्यवहार विभेदपुर्ण भएको भन्दै कार्यशैलीको चर्को आलोचना गरेका छन् ।

संघीय संसदको हिउँदे अधिवेशनको पहिलो बैठकमा बोल्दै महतोले कैलालीबाट निर्वाचित रेशम चौधरीलाई संसदमा उपस्थित नगराएर सरकारले एउटै देशका नागरिकलाई दुईथरि व्यवहार गरेको भन्दै आक्रोश पोखे ।

उनले नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई सम्बोधन नै गरेर भने “एक मुलुकमा दुईवटा व्यवहार ? तपाईले आन्दोलन गर्दा प्रधानमन्त्री हुने ? त्यो थारुको छोरोले आन्दोलन गर्दा झेलमा बस्नुपर्नै ? अनि सबै शान्ति भईसक्यो देशमा ? यसरी कसरी शान्ति हुन्छ ?”

दुई तिहाईको सरकारबाट जनताले गरेको आशा निराशामा परिणत हुदै गएको भन्दै उनले भने “दुई तिहाईको सरकार, खुँदा पहाड, निकला चुहा ।”

निर्वाचित सांसदलाई संसदमा उपस्थित नगराएकोमा निकै आक्रोशित देखिएका महतोले नेकपाका अध्यक्ष दाहाललाई चेतावनी दिदै भने “लहरो तान्दा पहरो जान्छ है, ख्याल गर्नु अत्याचारको सिमा हुन्छ । दुई रंगका व्यवहार हुनै सक्दैन । जनयुद्धमा दश बीस हजार आन्दोलनकारी मार्दा मुद्धा नलाग्ने अनि थारु अधिकारका लागि लड्नेलाई झेल कोच्ने ? यो हुन सक्दैन ? मौन भएर नबस्नोस्? ”

राममनोहर यादवको मृत्युको घटनाको छानविन गर्न संसदीय समिति गठन नभएकोमा पनि उनले आपत्ती जनाए । कंचनपुरकी निर्मला पन्तको हत्यारा १सय ५५ दिन भईसक्दा पनि पत्ता लगाउन नसकेको भन्दै उनले सरकारको आलोचना गरे । उनले भने “खै त निर्मला पन्तको हत्यारा ? टोल टोलमा सरकार पुग्नुपर्ने । पोल पालमा सरकार पुगि रा‘छ । यसरी हुन्छ ?”

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);