आन्तरिक विवादले राजपा नेता अलमलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

आन्तरिक विवादले राजपा नेता अलमलमा

rajapa

काठमाडौं, ७ पुस । आन्तरिक विवादका कारण राष्ट्रिय जनता पार्टी नेपाल (राजपा नेपाल) का नेता अलमलमा परेका छन् । सरकारलाई दिएको समर्थन दसंै, दीपावली तथा छठ पछि फिर्ता लिने चेतावनी दिएको राजपा नेपालले आन्तरिक विवादले बैठक नै बस्न सकेको छैन । गत ४ मंसिरमा अध्यक्ष मण्डलका संयोजकमा राजेन्द्र महतोलाई चयन गरिएको थियो । अध्यक्ष मण्डलको संयोजक रहेका महन्थ ठाकुरलाई हटाउँदै बैठकले ठाकुरको अवैधानिक नियुक्ति खारेज गर्ने निर्णय गरेको थियो ।

ठाकुरलाई संयोजकबाट हटाउनु र उनको नियुक्ति खारेज गर्नुले अध्यक्ष मण्डलको बैठक नै बस्न सकेको छैन । राजपा नेपाल स्रोतले दिएको जानकारीअनुसार आन्तरिक विवाद झन्झन् बढ्दै गएकाले बैठक अनिश्चित बन्दै गएको छ ।

महतोलाई संयोजक तोक्ने बैठकमा ठाकुरको आपत्ति नभए पनि उनको नियुक्ति खारेज गरेकामा आपत्ति रहेको स्रोतले जनायो । बैठकबाट भएको निर्णय ठाकुरले स्वीकार गरे पनि आफू निकटका नेतालाई उकास्ने काम गरेको आरोप अरू नेताको रहेको छ ।

राजपा नेपालको आन्तरिक विवादका कारण एकता महाधिवेशन पनि प्रभावित हुने निश्चित भएको छ । तोकिएको समयमै सदस्यता वितरण, जिल्ला एवं स्थानीय तह कमिटीको अधिवेशन एवं प्रतिनिधि छनोटलगायत काम आन्तरिक विवादकै कारण पर धकेलिएपछि महाधिवेशन पनि अनिश्चित बन्दै गएको छ ।

यसैगरी, छठ पर्वपछि सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा समेत निर्णय भएको छैन । संविधान संशोधन नभएकाले सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी यसअघि राजपा नेपालले दिएको थियो । तर, बैठक नै अनिश्चित बनेसँगै सरकारलाई दिएको समर्थन फिर्ता लिने कि नलिने भन्ने विषयमा समेत नेताहरू अलमलमा परेका छन् ।

यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);