जग्गा माग गर्दै प्रेरणाद्वारा पुनः सर्वोच्चमा रिट | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

जग्गा माग गर्दै प्रेरणाद्वारा पुनः सर्वोच्चमा रिट

Prerana Shah

काठमाडौं, ७ पुस । नेपाल ट्रस्टको कार्यालयअन्तर्गत आएको घरजग्गा पुनः पाउनुपर्ने माग गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा शाहले सर्वोच्च अदालतमा निवेदन दर्ता गराउनुभएको छ। उहाँले गोकुलबहादुर रोकायलाई वारेस राख्दै सर्वोच्च अदालतमा निवेदन दर्ता गराएकी छन् ।

यसअघि सर्वोच्च अदालतले तत्कालीन राजा वीरेन्द्र शाहको नाममा रहेको घरजग्गा नेपाल ट्रस्टको हुने पूर्ण इजलासले फैसला गरेको थियो। फैसला कार्यान्वयन गर्नका लागि ट्रस्टले घरजग्गा खाली गराउन पटक–पटक पत्रचार गरेको थियो। दुई साताअघि मात्रै प्रेरणा शाहका सहयोगीले घरजग्गा खाली गरिदिनेबारेमा पत्र बुझेको नेपाल ट्रस्टको कार्यालयले बताएको छ।

तत्कालीन समयमा राजा वीरेन्द्रको नाममा रहेको छाउनीको घरजग्गा ज्ञानेन्द्रले नामसारी गरी छोरी प्रेरणाको नाममा पास गरिदिएका थिए। छाउनीमा रहेको १५ रोपनी जग्गा र घरसहित २०७३ माघ २१ गते नेपाल ट्रस्टमा ल्याउने सर्वोच्चले फैसला सुनाएको थियो।

प्रेरणाले असाधारण क्षेत्रअन्तर्गत रिट दर्ता गराएपछि नेपाल ट्रस्टको कार्यालय भने अन्योलमा परेको छ। ट्रस्टको एक उच्च अधिकारीले नेपाल समाचारपत्रसँग भने– ‘सर्वोच्च अदालतको पूर्ण इजालसले प्रेरणाले उपभोग गर्दै आएको घरजग्गा नेपाल ट्रस्टको नाममा हुने फैसला गरेपछि कार्यान्वयन गर्न दुई साताअघि मात्र पत्र बुझाएका थियौं, पुनः सर्वोच्चमा रिट परेको कुराले अन्योलमा छौं।’

दर्ता भएको रिटमाथि सर्वोच्च अदालतले शुरूमा नै दरपिट गर्न सक्ने सर्वोच्चको एक अधिकारीले बताए। उनका अनुसार सर्वोच्च अदालतले रिटमाथि अन्तरिम आदेशको साथ कारण देखाऊ आदेश दुईमध्ये एक दिन पनि सक्नेछ। ६ महिनासम्म नेपाल ट्रस्टको कार्यालयको नाममा रहेको घरजग्गा खाली गराउन सरकारले काटेको पत्र बुझ्न प्रेरणाले अस्वीकार गर्दै आएकी थिइन् ।

यो खबर आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);