चेपाङ विद्यार्थीलाई पढ्नै धौधौ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

चेपाङ विद्यार्थीलाई पढ्नै धौधौ

chepang

हेटौंडा/चितवन, ७ पुस । चेपाङ बस्ती अन्यत्रजस्तो एकै ठाम झुरुप्प हुन्न । उनीहरूका छाप्रा यत्रातत्र छरिएका हुन्छन् । मकवानपुर र चितवनमा चेपाङ समुदायको उल्लेख्य बसोबास छ । दुवै जिल्लाको दुर्गम क्षेत्रको विकट ठाउँमा बस्छन् । बोलाउँदा सुनिन्छ तर त्यस ठाँउमा पुग्न तीन/चार घण्टा पैदल हिँड्नुपर्छ ।

खोलाको शिर र जंगलको पुच्छारमा छरिएर बस्ने चेपाङ गुनासोरहित समुदाय हो । प्रकृतिपूजक यो समुदाय सोझासिधा र इमानदार मानिन्छ । यो समुदायका कतिपय बालबालिकाले अझैपनि स्कुल देखेका छैनन् ।

पढ्न गएकाहरू पनि उत्तीर्ण भएर त्यही कक्षामा दोहोर्‍याएर पढ्न वा पढाइबाट हात धुन बाध्य छन् । मकवानपुर र चितवनका चेपाङ समुदायका बालबालिकाले यस्तै नियति भोग्नुपरेको छ ।

मकवानपुरकी शिरीमाया चेपाङ तीन कक्षा उत्तीर्ण भएको २ वर्ष भइसक्यो तर उनी त्यही कक्षामा पढिरहेकी छन् । उनलाई मनमा पढ्ने चाहना तीव्र छ तर तीन कक्षा पास भएर चारमा पढ्न भने पाएकी छैनन् ।

१३ वर्षकी शिरीमाया चार कक्षा पढ्न नपाएकोमा खिन्न छिन् । शिरीमायाजस्तै बिसुराम चेपाङ गत वर्ष तीन कक्षामा उत्तीर्ण भएका थिए । चार कक्षामा पढ्ने अवसर उनलाई जुरेन । उनी पनि त्यही कक्षा दोहोर्‍याएर अध्ययन गरिरहेका छन् ।

मकवानपुरको दुर्गम कैलाश गाउँपालिका ७ भार्ताको ताम्लाङस्थित सरस्वती प्राथमिक विद्यालयको कक्षा तीनमा शिरीमाया, बिसुराम, नवराज र विकेश चेपाङ दोहोर्‍याएर र पढिरहेका छन् । दोहोर्‍याएर पढ्ने उनीहरूको चाहना होइन, यो भूगोल र विकटताको बाध्यता हो । उक्त विद्यालयमा १५ जना विद्यार्थी तीन कक्षामा अध्ययनरत छन् ।

तीन कक्षा उत्तीर्ण भएपछि चार कक्षामा पढ्नका निम्ति दैनिक चार घण्टा हिँड्नुपर्छ । ताम्लाङका विद्यार्थीहरू चार कक्षामा अध्ययन गर्न जान डुम्रेस्थित प्रावि र शक्तिशाली निमाविमा पढ्न जानुपर्छ । यी विद्यालय जानलाई न्यूनतम २ घण्टा, आउन २ घण्टा लाग्छ ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);