कोठा छैन, आलोपालो पढ्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कोठा छैन, आलोपालो पढ्दै

class chaina

हेटौंडा,  २१ पुस ।  दुर्गममा होइन । हेटौंडा उपमहानगरपालिकाभित्रै विद्यालयमा विद्यार्थीको बिजोग छ । स्कुलमा कक्षाकोठा र डेक्सबेन्च पर्याप्त छैनन् । विद्यार्थीले आलोपालो नगरी पढ्नै पाउँदैनन् ।

विद्यार्थी संख्या धेरै भएर होइन, कक्षाकोठा र बस्नका लागि डेक्सबेन्चको अभावले गर्दा पढ्न आलोपालो गर्नुपरेको हो । उपमहानगरपालिका—१९ लेकपानीस्थित जीवनज्योति आधारभूत विद्यालयका छात्रछात्राले यो नियति भोग्दै आएका छन ।

भूकम्पले विद्यालय भवन पूर्णरूपमा क्षतिग्रस्त भएपछि जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षाले ५ कोठे भवन निर्माण गरिदिएको छ । ५ वटा कोठामध्ये एउटा कोठामा कार्यालय, एउटा ईसीडी, अर्कोमा एक कक्षा र बाँकी २ वटा कोठामा २ र ३ कक्षाका विद्यार्थी राखेर पढाइने गरिएको छ । बाँकी एक कोठामा ४ र ५ कक्षाका विद्यार्थी राखेर पढाउने गरिन्छ ।

२ वटा कक्षाका विद्यार्थीलाई एउटै कोठामा राख्ने गरिएको छ । डेक्सबेन्चको अभावले गर्दा २ कक्षाका विद्यार्थीलाई पढाउँदा तीन कक्षा विद्यार्थीलाई बाहिर र ३ कक्षाका छात्रछात्रालाई पढाउँदा २ कक्षाका विद्यार्थी बाहिर खेल्न पठाउने गरिएको छ । यस्तै हालत छ ४ र ५ कक्षाको पनि ।

साविकको बसामाडी गाविसको दुर्गम स्थानमा पर्ने उक्त लेकपानी वरिपरि तामाङ समुदायको मात्र बसोबास छ । १८ छात्रासहित ३७ जना विद्यार्थी भएको उक्त विद्यालय शौचालयविहीन छ । दिसा–पिसाब आएमा नजिकको जंगल छिर्नुपर्छ । यो नियति शिक्षक र विद्यार्थी दुवैले भोग्दै आएका छन् ।

कक्षाकोठा, डेक्स–बेन्च र शौचालयका लागि वडा कार्यालय लगायत शिक्षाको पुनर्निर्माण कार्यालयमा पनि पटकपटक ध्यानाकर्षण भइसकेको छ ।

उक्त स्कुलमा ईसीडीमा ८ जना, १ कक्षामा ६, २ कक्षामा ३, ३ कक्षामा ६ जना, ४ कक्षा ८ जना र ५ कक्षामा ६ कक्षामा अध्ययनरत छन् । उक्त विद्यालयमा लेकपानी, आरानचौर र कालीटारका विद्यार्थी पढ्न आउने गर्छन् । उक्त स्कुलमा शतप्रतिशत तामाङ समुदायका बालबालिका अध्ययनरत छन् । उक्त विद्यालय ५ कक्षा उत्तीर्ण भएपछि ६ कक्षामा अध्ययन गर्न दैनिक तीन घण्टा हिँड्नुपर्छ । ५ कक्षा उत्तीर्ण भएपछि लेवटस्थित माविमा अध्ययन गर्न आउनुपर्छ ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);