एक शिक्षक जसले सरकारी विद्यालयको स्वरूप फेरे   | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

एक शिक्षक जसले सरकारी विद्यालयको स्वरूप फेरे  

कपिलवस्तु । बाहिरी वातावरण हेर्दा विद्यालयको नाजुक अवस्था नियाल्न सकिन्थ्यो । जीर्ण भवन, भत्किएको पर्खाल, कक्षा कोठा फराकिलो भए पनि पुरानो धुलो मौलो देखिने कार्पेट । कार्पेटमाथि सिँगान चुहाउँदै पढ्न बसेका विद्यार्थी हुन्थे । शिक्षकको संख्या न्यून हुँदा बहुकक्षा शिक्षण (एउटै कक्षामा एकभन्दा बढी कक्षाका विद्यार्थी राखेर पढाउने) । त्यसैमा पढाइ लथालिङ्ग । तीन कक्षामा पढ्ने विद्यार्थीलाई अक्षर ठम्याउन धौ धौ । तर, पनि विद्यालयको औसत उपलब्धी दर भने ५० प्रतिशतभन्दा धेरै । कखरा सोध्यो पूरा भन्न सक्ने बिरलै हुन्थे । टिफिनपछि विद्यालय खाली देखिन्थ्यो । खाजा खान घर गएका विद्यार्थी स्कुल फर्किँदैन्थे ।  

चार वर्ष अगाडि कपिलवस्तुको नेपाल राष्ट्रिय आधारभूत विद्यालय शीतलापुर पुग्दा यही दृश्य देखिन्थ्यो । विद्यालयमा न पुरै शिक्षक हुन्थे न विद्यार्थी । शौचालयको भित्र बाहिर फोहर देखिन्थ्यो । धारामा पानी चुइँदैन्थ्यो । विद्यालयमा मुस्किलले १५-२० जना विद्यार्थी देखिन्थे ।  

२०७५ सालमा कमल पौडेलले विद्यालयकाे जिम्मेवारी सम्हाले । त्यसपछि भने विद्यालयमा परिवर्तन देखिन सुरु भयो । ‘ कमल सरले कमालको काम गर्नु भयो,’ शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारीले भने, ‘ कमल सर प्रअ नियुक्त भएपछि पढाइको स्तर सुधारिएको छ । बालबालिका सफा र चिटिक्क परेर आउन थालेका छन् । वरपरको सबै वस्तीका बालबालिकाको यही विद्यालय रोजाई बन्न पुगेको छ । निजी विद्यालयका बालबालिका समेत सामुदायिक विद्यालयमा आउन लागेका छन् ।’

नगरपालिकाका शिक्षा शाखा प्रमुख लोकराज पन्थीले विद्यालयको तारिफ गर्दै भन्छन्,‘ आजकल नगरपालिकामा कोही अवलोकन गर्न आयो भने हामी यही विद्यालयमा पठाउने गर्छौ । विद्यार्थीहरूको पठन प्रभाव (पाठ पढ्ने गति) उत्कृष्ट रहेको छ । बालबालिकाहरू लय मिलाएर पढ्न सक्ने भएका छन् । सरसफाइको क्षेत्रमा समेत नमुना बनेको छ । ’ अहिले कक्षा १ देखी ३ सम्म बाल मैत्री व्यवस्थापन गरी पी-फर्म माथि कार्पेट राखेर पढाउने गरिएको छ । माथिल्लो कक्षामा फर्निचरको व्यवस्थापन भएको छ ।

पहिलो वर्ष मै देखियो परिवर्तन

शीतलापुर दलित तथा अति विपन्न समुदायको बाहुल्यता रहेको क्षेत्र हो । सामाजिक विकासको सूचकाङ्कमा समेत पछाडि परेको क्षेत्र रहेको हुँदा विद्यालय प्रति समुदायको चासो हुँदैनथ्यो । सरसफाइ होस् या विद्यालय उपस्थिति हुने दर समुदायका चासो रहेको थिएन । मैले समुदायको विश्वास जिते जसका कारण विद्यालयको अवस्था परिवर्तन भएको प्रअ पौडेलले बताउँछन् ।

‘पहिले प्रअले पढाउन पर्दैन भन्ने प्रचलन रहेको थियो । म आएपछि सुधार गरेँ । आफैँ कक्षा शिक्षण गर्न सुरु गरेपछि  अरू शिक्षकले पढाउन सुरु गर्नु भयो । त्यसैमा पनि शिक्षक शिक्षकबीच आन्तरिक प्रतिस्पर्धा सुरु भयाे । जसले गर्दा शिक्षकले राम्रो गर्नु पर्छ भन्ने प्रवृत्तिको विकास गराएँ । अहिले हामीले हरेक वर्ष उत्कृष्ट शिक्षकलाई सम्मान गर्दछौँ । शिक्षकको प्रवृत्ति परिवर्तन आएपछि विद्यार्थीको सिका उपलब्धी र आनीबानीमा समेत परिवर्तन भएको छ,’ पौडेलले भने, ‘त्यसैले पहिलो वर्षमा भौतिक संरचना जोड्न नसके पनि बालबालिकालाई अक्षर चिनाउन र पढ्न सिकाउन सफल भएँ ।’

जिम्मेवारी लिएको पहिलो वर्षमै विद्यार्थीको उपस्थिति दर बढेको थियो । हाल विद्यालयको औसत उपस्थिति ९४ प्रतिशत छ । विद्यार्थी नियमित आउन लागेपछि शैक्षिक उपलब्धी दरसमेत बढेको छ । विद्यालय परिसर, कक्षा कोठा र विद्यार्थीहरू सरसफाइमा अब्बल हुँदै गएका छन् ।

शिक्षकलाई ल्यापटप, प्रोजेक्टर र स्मार्ट बोर्डबाट शिक्षण

२०१७ सालमा स्थापना भएको विद्यालयमा हाल विद्यार्थीको चापसमेत बढेको छ । जसका कारण कक्षा कोठाको अभाव भएको छ । विद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममार्फत प्रविधि मार्फत कक्षा सञ्चालनको सुरुवात भएको छ । सो कार्यक्रमले सबै शिक्षकलाई ल्यापटप, एक कोठामा स्मार्ट बोर्ड , तीन कोठामा प्रोजेक्टर जडान गरी शिक्षण गरिँदै आएको छ । प्रविधि जडान भएपछि विद्यार्थीहरूलाई अध्यापन गर्न समेत सजिलो भएको विद्यालयका शिक्षक सोमनाथ चौधरीले बताए । विद्यालयमा यस शैक्षिक सत्रका ३७४ विद्यार्थी भर्ना भएका छन् । शिवराज र महाराजगन्ज नगरपालिकाका ४ वडाका बालबालिकाहरू यस विद्यालयमा अध्ययन गर्न आउने गरेका छन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);