मष्टा आधारभुत विद्यालय : कोठा एक, कक्षा चार | ईमाउण्टेन समाचार

Our Network

चैत १ २०८०, बिहीबार

मष्टा आधारभुत विद्यालय : कोठा एक, कक्षा चार

मुगु। सोरू गाउँपालिका–९ तलिकालैस्थित मष्टा आधारभुत विद्यालयले एउटै कोठामा चार वटा कक्षा सञ्चालन गर्न थालेको एक दशक भइसकेको छ । स्थापनाको एक दशक बितिसक्दा पनि भौतिक संरचना अभावमा यो विद्यालयले यसरी नचाहदा नचाहदै पनि कलिला बालबालिकालाई कष्ट दिइरहेको छ ।  ०६८ सालमा स्थापना भएको विद्यालयमा कक्षा १ देखि ४ सम्म पढाई हुन्छ । विद्यालयमा छात्रा ४८ र छात्र ५० गरी ९८ जना अध्ययनरत छन् । सयको हाराहारीमा विद्यार्थी भए पनि उनीहरूलाई एउटै कोठामा बसाएर पठनपाठन गर्नु परेको विद्यालयले जानकारी दिएको छ । विशेषगरी यस विद्यालयमा विपन्न, अपाङ्गता भएका विद्यार्थीहरू अध्ययनरत छन् । अपाङ्गता–मैत्री विद्यालय संरचना नहुँदा बालबालिका यसै पनि समस्या भोगिरहेका छन् । कोठा अभाव हुँदा ईसिडी र कक्षा १ देखि ४ सम्मका विद्यार्थीलाई एउटै कोठामा बसाएर पठनपाठन गराईरहेको मष्टा आधारभुत विद्यालय कालैका प्रधानाध्यापक रत्नप्रसाद चौलागाईले बताए ।  प्रधानाध्यापक चौलागाईले भने, ‘विद्यालयमा कक्षा कोठा छैनन् भन्ने यहाका स्थानीय सरकार जानकार छ । तर, कुनै सुनुवाई हुँदैन ।’ यसरी स्थानीय सरकार, सरोकारवाला निकायले संरचाना निर्माणमा बेवास्ता गर्नु विद्यार्थीको भविष्यमाथि खेलबाड हो ।

‘एउटै कोठामा पढ्दा डिस्ट्रप हुन्छ, पढ्नै मन लाग्दैन, जानेको कुरा पनि बिर्सिन्छ, परीक्षामा लेख्नै सक्दैनौं,’ कक्षा ४ मा अध्यनरत जनकराजले भने । जनकराज जस्तै अरु विद्यार्थीले पनि सहज वातावरणमा पढ्न नपाएको बताए ।

शौच गर्न झनै सास्ती  
मष्टा आधारभुत विद्यालयमा कक्षा कोठामा मात्रको अभाव होइन, शौचालय पनि अभाव छ । शौचालय नहुँदा बालबालिकाहरू असुरक्षित तरीकाले बाहिरन जाने गरेका छन् । विद्यालयले एउटा अस्थायी शौचालय बनाए पनि त्यो पर्याप्त छैन । खुला स्थानमा शौच गरे मानव स्वास्थ्यमा नकारात्मक असर पर्ने थाहा हुँदा हुँदै पनि बाहिरै शौच गर्नु बाध्य भएको विद्यार्थीहरूको भनाइ छ । गाउँपालिका स्रोतबाट मात्रै संरचना निर्माण गर्न असम्भव भएपछि राष्ट्रपति शैक्षिक सुधार आयोजनासहितको सहयोगमा विद्यालयमा दुई कोठे भवन निर्माण जारी छ । छिट्टै नै विद्यालयमा थप भौतिक संरचना बन्ने सोरू गाउँपालिका शिक्षा शाखाका शिक्षा प्राविधिक सहायक निर्मल देवकोटाले बताए ।विद्यालयमा भौतिक संरचना अभाव हुँदा एउटै कक्षाकोठामा अन्य कक्षाका विद्यार्थीलाईसँगै राखेर पठनपाठन गराउन निकै असहज वातावरण भएको मष्टा आधारभुत विद्यालयका शिक्षिका कमला जैशीको दुखेसोे छ ।

उनका अनुसार विद्यार्थी समूह बनाएर पठनपाठन गर्न सकिएको छैन ।  बहुशिक्षा कक्षा सञ्चालन गर्दा विद्यार्थीलाई थेग्न नसकिने जैसीको भनाइ छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);