जाडो छल्न विद्यालयको चौरमै पठनपाठन | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

जाडो छल्न विद्यालयको चौरमै पठनपाठन

बागलुङ । विद्यालयको चौरमा आठ वटा विद्यार्थी समूह छन् । प्रत्येक समुहमा एक एक जना शिक्षक छन् । विद्यालयमा कक्षा कोठा नभएर यसरी चौरभरी विद्यार्थी भएका भने होइनन् । कक्षाकोठा नै खाली गराएर चौरमा विद्यार्थी राख्नुको कारण हो बढ्दो चिसो । 

यो दृश्य हो ढोरपाटन नगरपालिका–९ को ज्योति विकास आधारभुत विद्यालयको । ढोरपाटन उपत्यकामा चिसो बढेसँगै यहाँका विद्यालयहरूमा चौरमै शैक्षिक क्रियाकलप भइरहेको देख्न सकिन्छ । 

हरेक दिनको प्रार्थना सकिएपछि विद्यार्थीहरू विद्यालयको चौरमा कक्षा अनुसारको समूह बनाएर बस्छन् । कक्षा शिक्षकले पनि विद्यार्थीको बसाइँअनुसार चौरमै सेतोपाटी राखेर नियमित कक्षा सञ्चालन गर्ने गरेको विद्यालयका प्रधानध्यापक चक्रबहादुर अदैले जानकारी दिए । 

चिसो भुँई र शीतको पानी पनि चुँहिने भएकाले टिनको छानामुनि बस्नै नसक्ने विद्यार्थी कमल विकले बताए । ‘पहिलो घन्टीमा कक्षाभित्र बस्नै कठिन छ’ उनले भने ‘रातभरको तुसारो पग्लिने हुँदा किताब र बेन्चमा पानी पर्छ ।’ यहीकारण कात्तिकदेखि पुसको दोस्रो सातासम्म चौरमा पठनपाठन गर्ने गरेको शिक्षक श्याम विक बताउँछन् । 

ढोरपाटन उपत्यकाको हावा बहने स्थानमा विद्यालय भएको हुँदा चिसो हावा निरन्तर चल्न । चौरमा बसेर पढ्ना पछि जाडोले विद्यार्थीको ध्यान केन्द्रीत गर्न कठिन छ । पढाई भन्दा पनि चिसोबाट कसरी बच्ने भन्नेमा विद्यार्थी बढी केन्द्रीत हुने प्रधानध्यापक अदैले बताए । 

कक्षाकोठामै नियमित पठनपाठन गर्न हिटर अथवा कोठा न्यानो पार्ने कुनै वैकल्पिक प्रविधि व्यवस्थापन गर्न सके सहज हुने उनले बताए । ढोरपाटन क्षेत्रमा हिमपात र अत्याधिक चिसो बढ्ने हुँदा उक्त विद्यालय १५ पुसदेखि माघ मसान्तसम्म बन्द हुन्छ । बर्खे बिदाको सट्टा हिउँदे बिदा गरिएको प्रअ अदैले बताए । यहाँ कक्षा एकदेखि आठसम्म पठनपाठन हुन्छ । चिसो मौसमको बेला विशेषगरी बाल कक्षादेखि पाँचसम्मका बालबालिका विद्यालयमा नआउने, आएपछि छिट्टै घरमा जाने जस्ता समस्या रहेको छ । विद्यालयमा हाल एक सय ९२ जना विद्यार्थी छन् । चार जना स्थायी दरवन्दीका शिक्षक रहेको सो विद्यालयमा पाँच जना राहत र दुई जना आन्तरिक स्रोतबाट रहेको प्रअ अदैले बताए । फ्रान्सको आर्च संस्थाले दुई जना शिक्षकको मासिक तलबभत्ता उपलब्ध गराएको छ । 

विद्यालयको शैक्षिक गतिविधिलाई प्रविधिसँग जोडन उक्त संस्थाले १२ वटा ल्यापटप, तीन वटा प्रोजेक्टर पनि उपलब्ध गराएको छ । उक्त संस्थाले प्रत्येक बर्ष सबै विद्यार्थीलाई पुग्ने विद्यालय पोशाक, स्टेशनरी सामग्री स्विटर र रेनसुज दिने गरेको प्रअ अदैको भनाइ छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);