सुशील भण्डारी
अछाम, १९ मंसिर । लामो समय पछि ऐतिहासिक महत्व बोकेको अछाम जिल्लाको दरवारको पुनः निर्माण कार्यले गति लिएको छ । १७ वर्ष अघि नेकपा माओवादी र सुरक्षा निकायको दोहोरो भिडन्तमा भग्नावशेष भएको यो दरबारको निर्माणको अन्तिममा अर्काे जिल्लाबाट काठ ल्याउन नपाउने व्यवस्थाले अड्किएको थियो ।
अहिले कैलाली जिल्लाबाट काठ ल्याई काम अघि बढाईएको ठेकेदार कम्पनीले जनाएको छ । दरवारको निर्माण कार्य २०७६ असार मसान्त भित्र सम्पन्न गर्ने ठेकेदार जय बहादुर साउदले बताए ।
अछाम जिल्लाको धरोहरको रुपमा रहेको अछाम दरवार पुनः निर्माणमा ढिलाई हुनुमा ठेकेदारहरुको लापरबाही, केही प्रशासनिक कारण र नियमन निकायको दोष रहेको स्थानीयले बताएका छन् । निर्माण कार्यमा भएको ढिलासुस्तीलाई सम्बन्धित निकायलाई बारम्बार घचघच्याउँदा दरवारको निर्माण कार्यले गति लिएको जिल्ला समन्वय समिती अछामले जनाएको छ । दरवार निर्माण नहुन्जेलसम्म यसको निगरानी गरिरहने जिल्ला समन्वय समिती अछामका उपप्रमुख टोप बहादुर रावलले बताए ।
बिद्रोही नेकपा माओवादीले द्वन्द्वकालमा ध्वस्त पारेका धेरै संरचनाहरु अझैं बन्न सकेका छैनन् । २०५८ साल फागुन ४ गते शनिवारको दिन राती पनि यो दरवारमा आगजनी गरिएको थियो । करीब १७ बर्ष पछि अछाम जिल्लाको पहिचान, अछामको चिनारी अछाम दरवारको निर्माण कार्यले गति लिँदा स्थानीय निकै नै खुशी छन् ।
यो दरवार अछामकै महन्वपूर्ण संरचनामा पर्दछ । दरवार पुनः निर्माण भईसकेपछि अछाम जिल्लाको व्यापार, व्यवसाय फस्टाउनुका साथै यहाँ घुम्न आउने आन्तरीक तथा बाह्य पर्यटकहरुको समेत बुद्धि हुने स्थानीहरुको भनाई छ ।





