राष्ट्रनिर्माता पृथ्वीनारायण शाहद्वारा निर्माण गरिएको नुवाकोटको ऐतिहासिक दरबारलाई २०७२ सालको विनाशकारी भूकम्पले ठूलो क्षति पुर्यायो । नेपालको एकीकरण अभियानसँग जोडिएको दरबारको पुनर्निर्माण नेपाल र चीनबीचको सहकार्यमा भइरहेको छ । भूकम्पले क्षति पुर्याएको करिब एक दशकपछि चिनियाँ प्राविधिक टोलीले आर्थिक वर्ष २०८०/०८१ देखि दरवारको पुनर्निर्माण शुरु गरेको हो ।
-माेहनप्रसाद मैनाली
२०७२ सालको विनाशकारी भूकम्पले नेपालका असंख्य ऐतिहासिक सम्पदाहरूलाई ध्वस्त पा¥यो । सयौँ वर्षको कलासंस्कृति, परम्परा र गौरवका प्रतीक भौतिक संरचनाहरू केही सेकेन्डमै माटोमा मिलिन भयो । ऐतिहासिक धरोहरका पीडादायी क्षतिहरूमा नुवाकोट दरबार पनि एक हो । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले नेपाल एकीकरणको महान अभियान अघि बढाउने केन्द्रका रूपमा निर्माण गर्नुभएको यो दरबार नेपालको राजनीतिक, सांस्कृतिक र ऐतिहासिक चेतनाको मनमष्तिष्कसँग जोडिएको छ ।
काठमाडौंबाट करिब ७५ किलोमिटर उत्तर–पश्चिममा अवस्थित यो सात तले नुवाकोट दरबार वि.सं. १८१९ मा ललितपुरका कुशल कालिगढहरूको सहयोगमा मल्लकालीन शैलीमा निर्माण गरिएको हो । यो दरबार शुरुमा नौ तलाको निर्माण भएपनि १९९० सालको भूकम्पले दुई तला भत्काएपछि सात तलामा सीमित हुन पुग्यो । दरबार मात्र नभइ यस परिसरमा रहेका रङ्गमहल, तलेजु भवानी मन्दिर, लाम्पाटी, विष्णु मन्दिरजस्ता संरचनाहरूले पनि नुवाकोटलाई ऐतिहासिक धरोहरको अद्वितीय नमुना बनाएको छ, तर २०७२ को भूकम्पले यी सबैलाई पुनः नष्ट बनाइ दियो ।
त्यसयता दरबार सुनसान बन्यो, पर्यटक प्रवेशमा रोक लाग्यो र स्थानीय समुदायले वर्षौँसम्म यसको संरक्षण र पुनर्निर्माणको माग गर्दै सरोकारवाला निकाय तथा सरकारसँग माग गरे । अन्ततः दरबार पुनर्निर्माण गर्न नेपाल र चीन सरकारबीच भएको समझदारीले नयाँ ऊर्जा भर्न सफल भयो । आर्थिक वर्ष २०८०/०८१ बाट चिनियाँ प्राविधिक टोलीले दरबारको पुनर्निर्माणको काम शुरु गरेको छ । दरबारको मौलिक स्वरूप, परम्परागत वास्तुकला र ऐतिहासिक सामग्रीहरूको प्रयोगमा विशेष ध्यान दिएको छ।
चीनसँगको सहकार्यमा नेपाल सरकारले दरबार पुनर्निर्माण गरी भवनमार्फत् इतिहासलाई पुनर्जीवन दिने प्रयास गरिरहेको छ । नुवाकोट दरबार राष्ट्रनिर्माणको उद्गमस्थल हो, जहाँबाट पृथ्वीनारायण शाहले एकीकृत नेपाल निर्माणको सपना देखे र एकीकरणको रणनीति तय गरे । दरबारको पुनर्निर्माणले नेपालीहरूको राष्ट्रिय पहिचान र गौरवलाई पुनः जागृत गर्नेछ ।
नेपालको सांस्कृतिक सम्पदाहरू केवल विगतका गौरव होइनन्, तिनले भविष्यको पहिचान पनि निर्माण गर्छन् । नुवाकोट दरबार त्यसको ज्वलन्त उदाहरण हो, जहाँ इतिहास बोल्छ, राष्ट्रनिर्माताको दृष्टि झल्किन्छ र नेपालीपनको आत्माले बास गर्छ । भूकम्पले भत्काएको ईँट र काठको संरचना पुनः उठाउने काम सजिलो छैन, तर राष्ट्रिय एकता र अस्मिताको प्रतीकलाई पुनर्जीवन दिनु हाम्रो सामूहिक दायित्व हो ।








