पहाड र तराई जोड्ने सबैभन्दा छोटो सिद्धिचरण राजमार्ग जीर्ण बन्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

गोपाल पोखरेल, काठमाडौँ, ११ भदौ । सगरमाथा अञ्चलका पहाडी जिल्लालाई तराईसँग जोड्ने सबैभन्दा छोटो सिद्धिचरण राजमार्ग जीर्ण बन्दै गएको छ । खोटाङ, ओखलढुंगा र सोलुखुम्बुबासीले प्रयोग गर्ने यो राजमार्गमा सवारी चाप बढिरहे पनि लामो समयदेखि मर्मतसम्भार हुन नसकेपछि जीर्ण बन्दै गएको हो ।

 

उदयपुर, खोटाङ, ओखलढुंगा र सोलुखुम्बुका लाखौँ सर्वसाधारणको आवागमन र दैनिक उपभोग्य सामग्री ढुवानी हुने सिद्धिचरण राजमार्गको स्तरोन्नति नगरिँदा यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । दैनिक सयौँ सवारीसाधन आवतजावत गर्ने भीरको सडक एकातिर साँघुरो छ भने अर्कोतर्फ जीर्ण छ ।

 

सिद्धिचरण राजमार्गअन्तर्गत उदयपुरको कटारीदेखि घुर्मीसम्मको सडक दुर्घटनाको हिसाबले संवेदनशील बनेको छ । १९ वर्षअघि नेपाली सेनाले खोलेको साँघुरो ट्रयाकलाई १० वर्षअघि वटासिल प्रविधिको कालोपत्रे गरिएको थियो । अहिले कालोपत्रे सडक भत्किएर धुलाम्यमात्र भएको छैन, धुमाउरो र साँघुरोसमेत रहेकाले दुर्घटनाको जोखिम झनै बढेको छ । सडकको खाल्डाखुल्डी र पहिरो व्यवस्थापन गर्नतर्फ कसैले चासो देखाएको छैन । कटारी नगरपालिका क्षेत्रकै ठाँटी, लेखानीको लप्सेभीर, सिरिसेको वनदेवीलगायतका स्थानमा यात्रा गर्दा यात्रुले आँखा चिम्लनुपर्ने अवस्था छ ।

 

सिद्धिचरण राजमार्ग पहाड र तराईलाई जोड्ने महत्वपूर्ण राजमार्ग हो । तर, सडक जीर्ण हुँदा यात्राका लागि मात्र नभई सगरमाथा अञ्चलका पहाडी जिल्लामा खाद्यान्न र इन्धनका साथै दैनिक उपभोग्य सामग्री ढुवानीमा समेत समस्या हुनेतर्फ सम्बन्धित निकायको तत्काल ध्यान जानु जरुरी छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);