श्याम गुप्ता, बारा, २८ कात्तिक । तराई–मधेसबासी समुदायहरुको महत्वपूर्ण छठपर्व बुधवार सम्पन्न भएको छ । नदी, पोखरी , ताल–तलैयाको किनारमा बनाईएका छठ घाटमा उदाउँदै गरेको सूर्य भगवानलाई अर्घ दिई यस वर्षको छठ समापन गरिएको हो ।
तराई–मधेसबासी समुदायहरुको महत्वपूर्ण छठपर्व बुधवार विहान अस्ताउँदै गरेको सूर्य भगवानलाई अर्घ दिई समापन गरिएको छ । छठ पर्वको अन्तिम दिन बाराको जीतपुरसिमरा उपमहानगरपालिका–७ स्थित रातोपुल, सिमरा स्थित छठीमाई पूजा समितिको परिसर, स्थानीय ठाठीमाई छठ घाट, केराढोका , टेंढारोड् , खालकाटोला, सदरमुकाम कलैयाको सिद्धेश्वर पोखरी, रामजानकी मंदिर, बरेवा छठीमाई पोखरी लगायतका तराईका अधिकाशं जिल्लाका छठ घाटमा पुगी ब्रतालुहरुले सूर्य भगवानलाई अर्घ दिएका थिए ।
कात्र्तिक महिनाको षष्ठीमा मनाईने छठ पर्वमा अनिवार्य प्राकृतिक सामग्रीहरु दाउरा (बाँसबाट बनाईएको टोकरी), नाङ्गलो, सुपली, पित्तल, बाँस तथा माटोले बनाईएको विभिन्न भाँडा बर्तन, नरिवल, पान, सुपारी, उँखु, अदुवा, निम्बु, सुन्तला, स्याउ, केरा, सिंङ्गडा, सरिफा, चामलको अछेता, अबिर, सिन्दुर, मुला, फर्सि र पिठोबाट बनाईएको ठेकुवा, खजुरी लगायतका पूजाका विभिन्न सामाग्रीहरु लिएर छठ पूजा गरिने गरिएको स्थानीय गणेश प्रसाद साहले बताए ।
निकै नैं कठोर व्रत रहेको यस छठ पर्वको पहिलो दिन आईतवार नहान खान गरि चोखो खाना खाएर छठपर्व शुरु भएको थियो । सोमवार भने दिन भर उपवास बसेर छठ ब्रतालुहरुले रातमा रसियाव रोटी (खरना) बनाएर खाएका थिए । भने मंगलवार साँझ पख छठ घाटमा गएर पूजा बस्ने र अस्ताउँदै गरेको सूर्य देवलाई अर्घ दिईएको थियो ।
धार्मिक मान्यता अनुसार बर्त बस्नाले घर परिवारको सुख , शान्ति , समृद्धिसँगै आ–आफ्ना मनोकांक्षा सजिलै पुरा हुने जन बिश्वास सँगै छठपर्वले व्यापकता पाएको छ । छठ पर्वको मुख्य बिशेषता भनेको सबैले उदाउँदै गरेको सुर्यलाई ढोग्छन् । तर , यहाँ अस्ताउँदै गरेको सूर्य भगवानलाई पनि बडो श्रद्धा पूर्वक ढोग्ने काम गरिने स्थानीय कृष्णवर्त सिंहले बताए ।
छठको अर्को विशेषता भनेको तराई मधेसका दलित, जनजाती तथा मुस्लिमहरुले पनि एकै ठाउँमा बसेर पूजा गर्ने हुनाले यसलाई मेल–मिलाप, सद्भाव तथा साहिँष्णुताको प्रतिक पनि मानिन्छ ।