३६ वर्षकै उमेरमा बालेन्द्र शाह ‘बालेन’ नेपालको प्रधानमन्त्री बन्न सफल भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको एकल बहुमतसँगै उनी नयाँ पुस्ताको शक्तिशाली नेतृत्वका रूपमा उदाएका छन् । र्यापरदेखि इन्जिनियर, महानगर प्रमुखहुँदै प्रधानमन्त्रीसम्मको उनको यात्रा परिवर्तनको संवाहकको रुपमा हेरिएको छ ।
-माेहनप्रसाद मैनाली
नेपालको समकालीन राजनीतिक इतिहासमा बालेन्द्र शाह ‘बालेन’ को उदयले नेतृत्व परिवर्तन र पुस्तान्तरणको ढोका खोलेको छ। प्रधानमन्त्रीका रूपमा उनको नियुक्ति जनमतको शक्तिशाली अभिव्यक्ति हो, जसले परम्परागत दलहरूप्रति असन्तुष्टि र नयाँ विकल्पप्रतिको आकर्षणलाई स्पष्ट रूपमा देखाएको छ । २०४७ साल वैशाख १४ गते काठमाडौँको नरदेवीमा जन्मिएका बालेन ३६ वर्षको उमेरमै देशको कार्यकारी नेतृत्व सम्हाल्न पुगेका छन् । जन्म र हुर्काइ काठमाडौँमा भए पनि उनको पुख्र्यौली सम्बन्ध मधेश प्रदेशको महोत्तरी जिल्लासँग जोडिएको छ । उनलाई मधेश र काठमाडौँबीचको भावनात्मक पुलका रूपमा उभ्याएको छ। उनी मधेशी मूलबाट पहिलो प्रधानमन्त्री बनेका हुन् ।
बालेनको पहिचान राजनीतिभन्दा पहिले संगीत र साहित्यबाट स्थापित भएको हो । २०६९ सालमा सडक बालक गीतमार्फत सार्वजनिक भएका उनले नेपाली र्याप संगीतमा सामाजिक चेतना भित्र्याएका थिए । ‘म नेपाल हाँसेको हेर्न चाहन्छु’ जस्ता गीतहरूले उनलाई युवापुस्ताको आवाज बनायो । उनका सिर्जनामा गरिबी, असमानता र राजनीतिक विकृतिप्रति तीखो आलोचना पाइन्छ, जसले उनको राजनीतिक दृष्टिकोणको आधार तयार ग¥यो ।
स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका उनले प्राविधिक ज्ञानलाई व्यवहारमा उतार्ने क्षमता विकास गरेका छन् । २०७२ सालको भूकम्पपछि पुनर्निर्माण अभियानमा सक्रिय सहभागिता जनाउँदै उनले देशका ३५ जिल्लामा पुगेर अनुभव बटुले, जसले उनको राष्ट्रप्रतिको दृष्टिकोणलाई अझ व्यावहारिक बनायो ।
उनको औपचारिक राजनीतिक यात्रा २०७९ मा काठमाडौँ महानगरपालिकाको मेयर पद जितेसँगै सुरु भयो । स्वतन्त्र उम्मेदवारका रूपमा ६१ हजारभन्दा बढी मत प्राप्त गर्दै उनले परम्परागत दलहरूलाई चुनौती दिए । मेयरका रूपमा उनले अवैध संरचना हटाउने, फुटपाथ व्यवस्थापन र डिजिटल पारदर्शिता जस्ता साहसिक निर्णयहरू गरे, जसले उनलाई कडा तर प्रभावकारी नेताको रूपमा स्थापित ग¥यो ।
कम बोल्ने तर प्रभावशाली काम गरेर देखाउने बालेनको नेतृत्व शैलीको एउटा विशेषता हो । उनी लामो भाषणभन्दा छोटो, स्पष्ट र सन्देशपूर्ण अभिव्यक्ति दिने गर्छन् । सञ्चारमाध्यमसँग सीमित संवाद राख्ने तर जनतासँग प्रत्यक्ष जोडिने उनको रणनीति फरक र प्रभावकारी देखिएको छ ।
काठमाडौँ महानगरको मेयरमा स्वतन्त्र उम्मेदवारी दिनु वा झापा–५ जस्तो चुनौतीपूर्ण क्षेत्रमा उम्मेदवारी दिनु दुवै निर्णय जोखिमपूर्ण थिए । तर उनले ती जोखिमलाई अवसरमा बदल्दै ठूलो मतान्तरले विजय हासिल गरे । यसले उनको आत्मविश्वास र रणनीतिक क्षमतालाई प्रमाणित गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीमा उनको प्रवेश २०८२ पुस १३ गते भएको हो । सभापति रवि लामिछानेसँग भएको सात बुँदे सहमतिमा उनलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारिएको थियो । फागुन २१ गतेको निर्वाचनमा रास्वपाले १८२ सिट जित्दै स्पष्ट बहुमत ल्याएपछि उनी प्रधानमन्त्रीका भएका हुन् ।
प्रधानमन्त्रीका रूपमा उनको अगाडि चुनौतीका धेरै पहाड छन् । आर्थिक सुधार, सुशासन, भ्रष्टाचार नियन्त्रण र डिजिटल प्रशासन जस्ता क्षेत्रमा उनले परिणाम दिनुपर्नेछ । उनका अघिल्ला कामले आशा जगाए पनि राष्ट्रिय स्तरको नेतृत्व अझ जटिल हुन्छ, जहाँ सहकार्य र कूटनीति अपरिहार्य हुन्छ । युवापुस्ताको प्रतिनिधित्व गर्ने नेताका रूपमा उनीप्रति अपेक्षा धेरै छन् । रोजगारी, शिक्षा र उद्यमशीलतामा सुधार ल्याउन सके उनले दीर्घकालीन प्रभाव पार्न सक्छन् । प्राविधिक पृष्ठभूमिका कारण उनी डेटा–आधारित निर्णयमा विश्वास गर्छन्, जुन आधुनिक शासनका लागि आवश्यक छ ।





