पद्मरत्न तुलाधरको सोमबार अन्त्यष्टी गरिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पद्मरत्न तुलाधरको सोमबार अन्त्यष्टी गरिने

काठमाडौं, १८ कात्तिक । पूर्व मन्त्री एवम् वरिष्ठ वामपन्थी नेता पद्मरन्त तुलाधरको निधन भएको छ । मस्तिष्कघात भएपछि काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार गराउने क्रममा उनको आईतबार दिउँसो निधन भएको हो ।

मानव अधिकारवादी नेताका रुपमा समेत पहिचान बनाएका ७८ वर्षीय तुलाधर मुटु, फोक्सो र मधुमेह रोगबाट पीडित थिए । मुटु र फोक्सोले काम गर्न छाडेपछि तुलाधरको निधन भएको अस्पतालले जनाएको छ ।

उनलाई मस्तिष्कघात भएपछि गत शुक्रबार माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पताल भर्ना गरिएको थियो । उपचारको क्रममा तुलाधरको मृगौलामा समेत समस्या देखिएपछि नर्भिक अस्पतालको आईसियूमा सारिएको थियो ।

दलका नेताहरुले तुलाधरको निधनप्रति गहिरो दुःख व्यक्त

यसैबीच, विभिन्न राजनीतिक दलका नेताहरुले तुलाधरको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले नेपालको राजनीतिक तथा सांस्कृतिक आन्दोलनको अग्रज व्यक्तिको रुपमा तुलाधरलाई स्मरण गर्दै उनको निधनले मुलुकलाई ठूलो क्षति पु-याएको बताएका छन् । उनले दिवंगत तुलाधरको मृत आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनप्रति समवेदना समेत व्यक्त गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल, नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई लगायतका नेताहरु पनि स्वर्गीय तुलाधरको निधनप्रति गहिरो शोक व्यक्त गर्दै श्रद्धाञ्जली दिन अस्पताल पुगेका थिए । अहिले स्वर्गीय तुलाधरको पार्थिव शरीरलाई आफ्नै निवास लाजिम्पाटमा राखिएको छ । उनको भोली मात्रै अन्त्यष्टि गरिनेछ ।

स्वर्गीय तुलाधरले तत्कालीन माओवादी विद्रोहीलाई राजनीतिक मूलधारमा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । तत्कालीन कम्युनिष्ट पार्टीहरुको समर्थनमा जनपक्षीय उम्मेदवारका रुपमा राष्ट्रिय पञ्चायतको सदस्य समेत बनेका उनी प्रखर वक्ताको रुपमा पनि परिचित थिए ।

२०४६ सालमा बहुदलीय व्यवस्थाको पुर्नस्थापना भएपछि तुलाधरले सूर्य चिन्ह लिएर चुनाव लड्दै दुई पटक सांसद भएका थिए । स्वर्गीय तुलाधरको श्रीमति, २ छोरा, २ छोरी रहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);