तिहारमा आगलागी बढी, नियन्त्रणका लागि सचेतना कार्यक्रम | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

तिहारमा आगलागी बढी, नियन्त्रणका लागि सचेतना कार्यक्रम

tiharma-aaglagi

काठमाडौं, १७ कात्तिक । काठमाडौं महानगरपालिकाअन्तर्गतको जुद्ध वारुण यन्त्र कार्यालयले शुक्रबार अग्नि विपद् न्यूनीकरण सचेतना सप्ताहव्यापी कार्यक्रम सुरु गरेको छ। तिहारका बेला आगो तथा बिजुलीको प्रयोग बढी हुनेहुँदा विपद्को घटना पनि बढ्न सक्ने सम्भावनालाई दृष्टि दिँदै कार्यालयले कार्यक्रम सुरु गरेको हो।

कार्यक्रमको उद्घाटन गर्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले जुनसुकै बेला आगलागी हुनेभएकाले सधैं सचेत रहनुपर्ने बताए। उनले भने, ‘आगलागीको विपद् बाजा बजाएर आउने होइन, जतिखेर पनि घटना हुन सक्छ। आगो लागेमा सिंगो सहर जल्ने भएकाले सधैं सचेत हुनुपर्छ।’ प्रज्वलनशील वस्तुहरु घरमा नराख्ने, राखिहालेमा बच्चाको पहुँच नपुग्नेगरी राख्नुपर्ने उनले बताए।

तिहारको बेला मठमन्दिरमा बालिएका दियोबाट हुलमूलका कारण आगलागी हुन सक्ने मेयर शाक्यले बताए। जुद्ध वारुण यन्त्र कार्यालयले प्रत्येक वडा र टोलमा आगो नियन्त्रण सचेतना कार्यक्रम गर्नुपर्नेमा उनको जोड थियो। आगो नियन्त्रणका लागि वडा नं. ६ को रामहिटीमा दमकल भवन बनाउँदै गरेको उनले जानकारी दिए।

चाडपर्वका बेला आगो लाग्ने सम्भावना बढी भएकाले सचेतना कार्यक्रम सञ्चालन गरेको जुद्ध वारुण यन्त्र कार्यालयका संयोजक नीलकाजी शाक्यले बताए । ‘बालबालिकाबाटै धेरै आगालागी हुने गरेको छ,’ उनले भने, ‘उनीहरुलाई यसबारे सचेत बनाउने साथै ज्वलनशील वस्तु उनीहरुबाट टाढा राख्नुपर् ।’

अभिभावकले समेत आफ्नो बालबालिकालाई आगलागी नियन्त्रणका लागि सचेत बनाउनुपर्ने उनले बताए । कार्यालयको तथ्यांकअनुसार राजधानीमा तीन वर्षभित्र आगलागीका ३ सय ७७ वटा घटना भएका छन् । गत वर्ष तिहारआसपास गरी कात्तिक महिनामा आगलागीका २८ घटना भएका थिए।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);