पोखरा, १७ कात्तिक । नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) को एउटा रहस्मय पाटो यससँग आबद्ध व्यक्तिहरू अझै पूर्ण रूपमा खुलेका छैनन् । नेपाल क्रिकेट संघमा एक समय चिफ अपरेटिङ अफिसर छुम्बी लामा पीपीएलको आयोजक क्विन्स इभेन्टका प्रबन्ध निर्देशक छन् ।
तर नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्लको पनि यसमा संलग्नता खुलेको छ। फ्रेन्चाइज टोली होस् या प्रायोजक, पीपीएलमा अवसर दिएकोमा पारसप्रति आभारी रहेको प्रतिक्रिया दिन्छन् । पोखरा क्रिकेट मैदानको तयारी हेर्न पारस तीनपल्ट यहाँ आइपुगे ।
आधिकारिक रूपमा पारस र ज्ञानेन्द्रको नाम आयोजकमा कहीं आएको छैन । जबकि पीपीएलमा उनीहरूको सक्रियता अझ बढ्दो थियो । उनीहरू जसरी पीपीएलमा आबद्ध छन्, त्यसलाई जोडेर धेरैले यसलाई पारस प्रिमियर लिग, प्लेयर्स प्रिमियर लिग भनेर चर्चा गर्छन् ।
पारस र ज्ञानेन्द्र दुबै पीपीएलका मार्की खेलाडी पनि हुन् । पारसको कप्तानीमा चितवन राइनोज र ज्ञानेन्द्रको कप्तानीमा हुलास काठमाडौं रोयल्स पीपीएलमा प्रतिस्पर्धा गरिरहेका छन् ।
यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।




