निर्वाचन आयोगद्वारा पुन: दल दर्ताको आह्वान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाडौं, ८ भदौ । निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सबै राजनीतिक दलहरुलाई पुनः आह्वान गरेको छ ।

 

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता गराउन सबै राजनीतिक दलहरुलाई पुनः आग्रह गरेका हुन् । प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि आगामी आईतबारसम्म दल दर्ता गर्न निर्वाचन आयोगले यस अघि नै सूचना जारी गरिसकेको छ ।

 

आयोगका प्रवक्ता शर्माले अव दल दर्ताका लागि म्याद थप गर्ने सम्भावना नरहेको बताए । उनले शुक्रबारसम्म ४४ वटा राजनीतिक दलहरुले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता गराएको जानकारी दिए ।

 

संविधानको धारा २ सय ७१ अनुसार निर्वाचन प्रयोजनका लािग राजनीतिक दलहरुले निर्वाचन आयोगमा अनिवार्य दल दर्ता गराउनुपर्ने व्यवस्था छ । आयोगका प्रवक्ता शर्माले असार मसान्तसम्म राजनीतिक दलको रुपमा दर्ता भएका राजनीतिक दलहरुले मात्रै निर्वाचन प्रयोजनका लागि आयोगमा दल दर्ता गर्न सक्ने व्यवस्था गरिएको बताए ।

 

प्रदेश नम्बर २ को निर्वाचन तयारी अन्तिम चरणमा

 

निर्वाचन आयोगले प्रदेश नम्बर २ अन्तरगतको ८ वटा जिल्लामा आगामी असोज २ गते हुने स्थानीय तह निर्वाचनको तयारीको काम पनि अन्तिम चरणमा पुगेको पनि स्पष्ट पारेको छ ।

 

आयोगका प्रवक्ता शर्माले आगामी सोमबारबाट निर्वाचन अधिकृतको कार्यालय पनि संचालनमा आउने जानकारी दिए । आयोगले यस अघि नै मुख्य निर्वाचन अधिकृतको कार्यालय संचालनमा ल्याईसकेको छ ।

 

प्रवक्ता शर्माले अहिले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनका लागि मतदाता नामावली अध्यावधिक गराउने काम भइरहेको बताए । सरकारले पछिल्लो पटक ९ वटा स्थानीय तहको संख्या बढाएपछि आयोगले प्रदेश नम्बर दुईको मतदाता नामावली अध्यावधिक गर्ने कामलाई तीव्रता दिएको हो ।

 

प्रदेश नम्बर २ अन्तरगत १ सय ३६ वटा स्थानीय तहमा आगामी असोज २ गते स्थानीय तहको निर्वाचन हुँदैछ । आयोगका प्रवक्ता शर्माले पछि थपिएका ९ वटा स्थानीय तहमा पनि निर्वाचनको सामग्री व्यवस्थापन गर्ने काममा आयोग लागि परेको स्पष्ट पारे ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);