एलपीजी ग्यासबाट हुने आगलागीबाट बच्न ललितपुरमा सचेतना र डेमो प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

असोज १८ २०८३, सोमबार

एलपीजी ग्यासबाट हुने आगलागीबाट बच्न ललितपुरमा सचेतना र डेमो प्रदर्शन

काठमाडौँ ।

चाडबाड नजिकिएसँगै भान्साकोठामा प्रयोग हुने एलपीजी ग्यासबाट हुनसक्ने सम्भावित आगलागीका जोखिमलाई न्युनिकरण गर्न ललितपुरमा विशेष नमूना अभ्यास (डेमो) कार्यक्रम गरिएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरको आयोजनामा भएको उक्त कार्यक्रममा ग्यास सिलिण्डर, रेगुलेटर र पाइपको प्रयोगमा अपनाउनुपर्ने सावधानीका विषयमा व्यावहारिक ज्ञान दिइएको हो । दैनिक जीवनमा अपरिहार्य बनेको एलपीजी ग्यासको प्रयोगमा हेलचेक्र्याइँ गर्दा ठूलो जनधनको क्षति हुनसक्ने भन्दै प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेले सुरक्षाका मापदण्ड पालना गर्न आह्वान गर्नुभयो । सोमवार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले ग्यास सिलिण्डरलाई घाममा सुकाउने, तेर्सो पारेर प्रयोग गर्ने वा कमजोर पाइपको प्रयोग गर्ने जस्ता गलत अभ्यासले नै आगलागी निम्त्याउने बताउनु भयो ।  कार्यक्रममा नगर प्रहरी र प्राविधिक टोलीले ग्यास चुहावट हुँदा उत्पन्न हुने जोखिम र त्यसलाई तत्काल नियन्त्रण गर्ने तरिकाबारे प्रत्यक्ष प्रदर्शन गरेका थिए । प्रशासकीय अधिकृत गणेश अधिकारी लगायत सहभागीहरूले सिलिण्डरको सुरक्षाबारे व्यावहारिक अभ्यास गरेका थिए । प्रजिअ घिमिरेले विपद् जुनसुकै समयमा आउन सक्ने भएकाले घरका वयस्क सदस्यहरूले यस्ता प्राविधिक सीप सिक्नु आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले हरेक घर, कार्यालय र व्यावसायिक प्रतिष्ठानमा कम्तीमा एउटा अग्निनियन्त्रक (फायर एक्सटिङ्गुइसर) राख्न र समय–समयमा त्यसलाई रिफिल गर्न सुझाव दिनुभयो ।

Leave a Reply