वितरक भन्छन्- ‘छक्का पञ्जा ३’ को ओपनिङ बम्पर’ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

वितरक भन्छन्- ‘छक्का पञ्जा ३’ को ओपनिङ बम्पर’

chhaka panja 3

काठमाडौं, २५ असोज । लामो समयपछि नेपाली फिल्म हेर्ने दर्शकको भीड देखिएको छ । नेपाली फिल्मको व्यापारमा खडेरी लागिरहेको अवस्थामा बुधवारबाट प्रदर्शनमा आएको फिल्म ‘छक्का पञ्जा ३’ ले वर्षकै ठूलो ओपनिङ पाएको छ ।

प्रदर्शनको पहिलो दिन सिंगल र मल्टिप्लेक्स स्कृनमा फिल्म हेर्ने दर्शक अत्याधिक देखिएका छन् । राजधानीभित्र देशकै सबैभन्दा ठूलो मल्टिप्लेक्स क्यूएफएक्सले ३० सोज उपलब्ध गराएको थियो । जसमध्ये अधिकांश सोज बिहानैदेखि हाउसफुल रहे । काठमाडौं वितरक उज्जवल पौडेलले ‘छक्का पञ्जा ३’ ले बम्पर ओपनिङ गरेको बताएका छन् । ‘सिंगल होस् वा मल्टिप्लेक्स, फिल्म जताततै हाउसफुल छ’, उनले भने ।

उनका अनुसार, बिहानदेखि साँझसम्म उपत्यकामा फिल्मको अकुपेन्सी रेट लगभग शतप्रतिशत रहेको छ । दुई सिरिजभन्दा ‘छक्का पञ्जा ३’ ले राम्रो कलेक्सन गरेको छ । वितरक पौडेलले भने, पहिलो दिन ३० लाखसम्म शेयर निर्माताको हातमा पर्न सक्छ । फिल्मको ओपनिङलाई कमेडी जनरा, टिम र हिट फिल्मको सिक्वेलले भरपुर साथ दिएको छ ।

मध्यमवर्गीय दर्शकको अत्याधिक चाप रहने गोपीकृष्ण मुभिजका ४ वटा पर्दा बुधबार बिहानी शोमा हाउसफुल भएका थिए । दिउँसो झन् दर्शकको चाप बढेको हल सञ्चालकले जानकारी दिएका छन् । अष्टनारायण, गुण, गंगालगायतका सिंगल हलमा पनि बिहानैदेखि दर्शकको उपस्थितिमा कमी आएन । फिल्म हेर्ने अधिकांश दर्शकले राम्रो बोलेका छन् ।

सिंगल स्कृन जस्तै मल्टिप्लेक्समा पनि फिल्मको विजनेस उत्कृष्ट पाइएको छ । क्युएफएक्ससँगै क्यूज, विएसआर, एफक्यू, विग मुभिज सबैतिर दर्शकको भीड छ । जानकारीमा आएअनुसार फिल्मले राजधानीभित्र झैँ बाहिरका मेजर स्टेशन नारायणगढ, पोखरा, हेटौँडा, बुटवल, बिर्तामोड सबैतिर उत्तिकै मात्रामा दर्शकको साथ पाएको छ ।

हाँस्य जनराको फिल्म हेर्ने दर्शकले राम्रो भन्दै गर्दा गुड वर्ड अफ माउथु ले बिहीबारदेखिको विजनेसमा फाईदा पुग्ने देखिएको छ । लेखक तथा कलाकार दीपकराज गिरीले दर्शकबाट उत्साहजनक प्रतिक्रिया मिलेको बताए । उनले भने, यसअघि हामीले ८० प्रतिशत कमेडी र २० प्रतिशत मात्र कन्टेन्टमा काम गरेका थियौं । यसपटक ५०र५० गरेर कन्टेन्टलाई बढी जोड दिएका छौं । त्यसलाई दर्शकले रुचाइदिनुभएको छ ।

बर्ष २०७५ कै सर्वाधिक प्रतिक्षीत फिल्म बनेको छक्का पञ्जा ३ को ओपनिङ डे कलेक्शनले नै हालसम्मको सबै फिल्मको रेकर्ड ब्रेक गर्ने अनुमान छ । फिल्मले पहिलो दिन मात्रै १ करोड २० लाख आसपासको ओपनिङ गर्नसक्ने अनुमान छ । पहिलो दिन फिल्म हेर्ने दर्शक १६-३० वर्ष उमेर समुहका बढी देखिएका छन् ।

पाँचदिने विकेन्ड पाएको दीपाश्री निरौला निर्देशित फिल्ममा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, शिवहरि पौडेलको हास्यकलाकारको जम्बो टोलीसहित दीपिका प्रसाईँ, प्रियंका कार्की, स्वस्तिमा खड्का, बर्षा राउत, संजोग कोइरालालगायतको अभिनय रहेको छ । फिल्मीखवरबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);