प्रतिनिधिसभामा सरकारको चर्को आलोचना | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

प्रतिनिधिसभामा सरकारको चर्को आलोचना

काठमाडौं, १९ असोज । चाडपर्वका बेलामा पनि चिनीलगायत अतिआवश्यकीय बस्तुको मूल्य नियन्त्रण गर्न गम्भिर नभएको भन्दै प्रतिनिधिसभाका सांसदहरुले सरकारको चर्को आलोचना गरेका छन् ।

सार्वजनिक लेखा समिति अन्तरगतको उपसमितिको शुक्रबार बसेको बैठकमा सांसद प्रेमबहादुर आलेले प्रतिकेजी ६३ रुपैयाँ भन्दा बढि मूल्यमा चिनीको विक्री विवरण गर्नेको पहिचान गरी कडा कार्वाही गर्न माग गरे ।

उनले सरकारका सम्बन्धित निकायका पदाधिकारीहरुसहितको बैठकमा चिनीको आयातमा प्रतिबन्द किन लगाएको भनेर आक्रोश पनि व्यक्त गरे । सांसद आलेले चिनी, तेल लगायतका दैनिक उपभोग्य बस्तुको मूल्य नियन्त्रणका लागि गम्भिर भएर अनुगमनमा खटिन सरकारका सम्बन्धित निकायका कर्मचारीलाई सचेत गराए ।

समितिकी अर्का सदस्य चन्दा चौंधरीले उखु कृषकको १ अरव ६९ करोड बक्यौता रकम उखु मिल मालिकबाट दिलाउन नसकेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरिन् । उनले भाटभटेनी सुपर मार्केटमा ५९ रुपैयाँ प्रतिकिलो चिनीको विक्री वितरण भईरहेको उल्लेख गर्दै त्यसको कारण खोजी गर्न नसकेकोमा पनि आपत्ति जनाइन् ।

अन्य बस्तुमा मूल्य बढाएर चिनीमा मूल्य घटाउने त्यस्ता सुपर मार्केटहरुलाई कार्वाहीको दायरामा ल्याउन पनि सरकारलाई सांसद चौंधरीले सचेत गराइन् ।

समितिकी सदस्य पार्वता डिसी चौधरीले मूल्य वृद्धि नियन्त्रण गर्न सरकार गम्भिर नभएको आरोप लगाइन् । चाडपर्वको बेला व्यापारीले चिनीको मूल्य वृद्धि गर्दा पनि सरकारले कुनै कदम लिन नसकेकोमा उनको आपत्ति छ ।

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले चिनीको मूल्य नियन्त्रण गर्न सरकार गम्भिर भएर लाग्ने प्रतिवद्धता व्यक्त गरे । उनले जनशक्तिको अभावमा बजार अनुगमनको कामलाई प्रभावकारी बनाउन नसकेको स्वीकार गरे । स्थानीय प्रशासनलाई हारगुहार गरेर मात्रै अनुगमनको कामलाई अघि बढाउनु परेको सचिव घिमिरेको भनाई छ ।

चिनीलगायत दैनिक उपभोग्य बस्तुको मूल्य बढेपछि सार्वजनिक लेखा समिति अन्तरगतको उपसमितिले त्यसको कारणबारे जानकारी लिन सम्बन्धित निकायसँग शुक्रबारबाट छलफल सूरु गरेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);