चिनीको मूल्य बढाउन कर्मचारीकै चलखेल | ईमाउण्टेन समाचार

Our Network

असार १२ २०८३, शनिबार

चिनीको मूल्य बढाउन कर्मचारीकै चलखेल

chini

काठमाडौं, २० असोज । ‘तपाई ल्यापटप बन्द गर्नुस्, हामीलाई तपाईको हिसाब किताब चाहिँदैन’, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं सांसद प्रेम आलेले आक्रोशित हुँदै भने, ‘चिनीको मूल्य ६३ भन्दा एक रुपैयाँ पनि बढी हुनुहुन्न। समितिको निर्णय कार्यान्वयन गर्नुस्।’

शुक्रबार लेखा समितिअन्तर्गत गठित उपसमितिको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयका अधिकारीसँग सांसद आलेले यसरी आक्रोश पोखे। समिति सदस्यले लेखा समितिकै निर्देशनअनुसार देशभर चिनीको मूल्य निर्धारण गर्न मन्त्रालय मातहतका उच्च अधिकारीलाई आग्रह गरिरहँदा उद्योग सचिव यामकुमार खतिवडा भने ल्यापटप खोलेर हिसाब निकाल्दै थिइन्।

‘व्यापारीका कारण सरकारको बद्नाम भइसक्यो’, सांसद आलेले भने, ‘प्रधानमन्त्रीसँगको छलफलमा उखु व्यवसायीले ६३ रुपैयाँमा चिनी बेच्ने प्रतिबद्धता जनाएका छन्, अनि अहिले आएर मनलाग्दी मूल्य वृद्धि गर्न पाइँदैन, यसलाई कढाईका साथ मन्त्रालयले पालना गर्नुपर्छ।’

समिति सदस्यले ६३ रुपैयाँ चिनीको खुद्रा मूल्य तोक्न सरकारलाई आग्रह गरिरहेका बेला उद्योग सचिव खतिवडा भने असन्तुष्टि जनाइरहेकी थिइन्। उनीसँगै रहेका वाणिज्य तथा आपूर्ती सचिव चन्द्रकुमार घिमिरेसँग कानेखुसी गर्दै उनले भनिन्, ‘६३ रुपैयाँ त कसरी हुन्छ, ६९ रुपैयाँ त उद्योगीकै मूल्य आउँछ। यो कार्यान्वयन गर्न सजिलो हुँदैन।’ उनी ल्यापटप निकालेरै सांसदलाई हिसाब नै देखाउन थालेपछि सांसद रुष्ट बने। सचिव खतिवडाको हाउभाउ र प्रतिक्रिया हेर्दा लाग्थ्यो, उनी समितिमा सरकारको उच्च अधिकारीभन्दा उद्योगीको प्रतिनिधित्व गर्दै थिइन्।

तर सोही मन्त्रालयका वाणिज्य तथा आपूर्ती सचिव घिमिरे भने समितिले निर्देशन दिए सरकारले लागू गराउने प्रतिबद्धता जनाउँदै थिए। ‘समितिले गरेको निर्णयअनुसार मूल्य निर्धारण गर्न सकिन्छ, यसका लागि समितिले लिखित पत्र पठाउनुपर्छ, बढ्दो मूल्य नियन्त्रण गर्ने र एकरुपता कायम गर्ने यो सही समय पनि हो’, उनले भने।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

ताजा समाचार