काठमाडौं, १७ असोज । बंगबन्धु गोल्डकप खेल्न बंगलादेश पुगेका नेपाली टोली पहिलो खेलमै ताजकिस्तानसँग २–० ले पराजित भएको छ । उपाधी रक्षा गर्ने लक्ष्य त थियो तर, बंगबन्धु गोल्डकपको अन्तिम चारमा पुग्ने सम्भावना अब भने धमिलिएको छ ।
नेपाल शुरुबाटै रक्षात्मक बनेपनि २७ औं मिनेटमा गोल खाएको थियो । नेपालका रक्षक अनन्त तामाङले इर्गाशेभ जाहोनजिरलाई पेनाल्टी क्षेत्रमा फाउल गरेपछि ताजकिस्तानले पेनाल्टी पायो । जसलाई ताजकिस्तानका कप्तान फतखुल्लो फतखुलोएभले गोल गरे ।
पहिलो हाफमै एक शून्यले पछि परेको नेपालले दोस्रो हाफमा पनि पुनरागमन गर्न सकेन । ६८औं मिनेटमा अर्को गोल खाएपछि नेपालको एक गोल लिने सपना समाप्त बनेको थियो । वायाँ कर्नरबाट आएको क्रसलाई कसैको निगरानीमा नरहेका तुरुनोभ कोम्रोनले हेड गर्दै गोलमा परिणत गरेका हुन् ।
पेनाल्टीमा गोल खानु पक्कै दुुर्भाग्य थियो । मुख्य रक्षकहरु चोटका कारण परिवर्तन गरिए । त्यसले गर्दा पनि नेपालले दोस्रो गोल खान पुुग्यो । ताजकिस्तानविरुद्ध नेपालको खेलमा हार ब्यहोरेको यो पहिले हार पक्कै होइन ।
यसअघि पनि गत सेप्टेम्बरमा सम्पन्न एसिया कप छनोट प्रतियोगितामा नेपालले घरेलु मैदानमा २–१ ले पराजित भएको थियो भने त्यसको एक महिनापछि ताजकिस्तान भ्रमणमा नेपाल २–० ले निरिह बनेको थियो । जितसँगै महत्वपूर्ण तीन अंक जोडेको ताजकिस्तानले बिहीबार प्यालेस्टाइनसँग प्रतिस्पर्धा गर्नेछ ।
यो बांगलादेशको सिलहेइट रंगशाला हो र नेपालले यही ठाउँमा पराजय व्होरेको हो । पहिलो खेल नै गुमाएपछि साविक विजेता नेपाललाई अघिल्लो चरण पुग्नका लागि शनिबार प्यालेस्ताइनविरुद्धको खेलमा जित्नुको विकल्प छैन ।




