नेपाली टोलीको पछिल्लो सफलताले एसियन कप छनोटको सम्भावना जीवित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

नेपाली टोलीको पछिल्लो सफलताले एसियन कप छनोटको सम्भावना जीवित

काठमाडौं । विश्वकप २०२२ र एसियन कप २०२३ को संयुक्त छनोट अन्तर्गत बिहीबार भएको खेलमा नेपालले चाइनिज ताइपेईविरुद्धको खेलमा सुखद नतिजा निकाल्यो । मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरीको पहिलो परिक्षामा शत प्रतिशत नतिजा निक्लिएको छ । युवा खेलाडी समेटिएको टोलीले प्राप्त गरेको नजिताले नेपालको एसियन कप छनोटको तेस्रो चरणमा प्रवेश गर्ने सम्भावना पनि जीवित रहेको छ ।

घरेलु मैदान दशरथ रंगशालामा हुनु पर्ने चाइनिज ताइपेईविरुद्धको खेलमा नेपालले बिहीबार तटस्थ स्थल कुवेतको जाबेर अहमद अन्तर्राष्ट्रिय रंगशालामा खेल्यो । पहिलो लेगमा सुखद नतिजा निकालेको नेपालले दोस्रो लेगमा पनि चाइनिज ताइपेईलाई २–० ले पराजित ग¥यो । इराकसँगको मैत्रीपूर्ण खेलमा बलको पकडलाई गुमाएको टोलीले चाइनिज ताईपेइविरुद्धको खेलमा काउन्टर गर्दै दबाब दिएको राष्ट्रिय टोलीका रक्षक विक्रम लामाले टिप्पणी गरे ।

पहिलो लेगमा चाइनिज ताइपेई भ्रमण गर्दाका टोली सदस्य बिक्रम अहिले घुँडाको चोटका कारण आराम गरिरहेका छन् । यस अघिका खेलमा नेपालले रक्षात्मक खेल खेल्ने रणनीति अपनाउँदै आएको तर बिहीबारको खेलमा नेपालले अट्याकिङ रणनीतिमा बढी ध्यान दिएर खेलेको बिक्रमले थपे ।

छनोट चरणको प्रतिस्पर्धाका लागि कुवेत प्रस्थान गर्नु अघि नेपालले इराकसँग मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा ६–२ ले पराजित नेपाल स्तब्ध भएको थियो । यद्यपी फिफा वरियातामा नेपाल निकै माथि रहेको र एसियाको पावर हाउसमा गनिने इराकसँग प्रतिस्पर्धात्मक खेल खेल्नुले नेपाली टोलीको मनोबल बढेको थियो ।

साथै युवा र नयाँ खेलाडीलसँग पाका खेलाडीको संयोजनले टोलीले राम्रो नतिजा निकाल्न सफल भएको डिफेन्डर विक्रमले बताए ।

बिहीबार नेपालको पक्षमा जित निक्लिँदा पहिलो लेगमा २ गोल गरेका अञ्जन विष्टले पेनाल्टी अवसरबाट नेपाललाई अग्रता दिलाएका थिए । दोस्रो गोल नवयुग श्रेष्ठले गरेका थिए । चौथो मिनेटमा चाइनिज ताइपेईका खेलाडीले पेनाल्टी क्षेत्रमा बल रोक्ने क्रममा ह्याण्ड गरेपछि नेपालले पेनाल्टी पाएको थियो । पेनाल्टी प्रहारमा आएका अन्जन विष्टले अवसरलाई सदुपयोग गर्दै टोलीको खाता खोलेका थिए ।

सुरुआती अग्रता निकालेसँगै दबाब दिएर खेलेको नेपालका लागि बैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका नवयुगले ८१औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाएका थिए ।

चाईनिज ताईपेइविरुद्ध दोस्रो लेगमा निकालेको जितलाई प्रशिक्षक अलमुताइरीले कोरोना भाइरससँग लड्नका लागि स्वास्थ्य क्षेत्रमा खटिएका अग्रापंक्तिका स्वास्थकर्मीहरुलाई समपर्ण गरेका छन् । खेल पछिको पत्रकार सम्मेलनमा अलमुताइरीले स्वास्थकर्मीहरुलाई जित सुम्पिएका हुन् ।

समूह बी मा दोस्रो जितपछि नेपालले ६ खेलबाट ६ अंक नै जोडेको छ । यसअघि पनि नेपालले चाइनिज ताइपेई विरुद्ध नै ३ अंक जोडेका थिए । नेपालले अब जेठ २४ गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासंग खेल्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);