एजेन्सी, १२ असोज । बंगलादेशकी प्रधानमन्त्री शेख हसिना बाजेदले बंगलादेशमा रहेका म्यानमारका रोहिंग्या शरणार्थीहरुलाई छिट्टै स्वदेश फर्किने वातावरण बनाउन जोड दिएकी छन् ।
संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै हसिनाले यसका लागि म्यानमारले जतिसक्दो चाडो पहल गर्नुपर्ने आवश्यकतामा जोड दिइन् ।
बंगलादेशमा शरणार्थी जीवन व्यतित गरिरहेका म्यानमारका रोहिंग्या शरणार्थीहरुलाई सहज ढंगले स्वदेश फर्किने वातावरण बन्न नसकेपछि बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले दुःख व्यक्त गरेकी छन् ।
म्यानमार र बंगलादेशबीच ३ पटक द्धिपक्षिय वार्ता भएतापनि शरणार्थीलाई स्वदेश फर्किने वातावरण बन्न नसकेपछि प्रधानमन्त्री हसिनाले संयुक्त राष्ट्रसंघको महासभामा यो विषय प्रवेस गराउँदै जति सक्दो चाँडो घर फर्किने वातावरण बनाउन सबै सँग आग्रह गरेकी हुन्।
उनले रोहिंग्या शरणार्थी समस्याको भरपर्दो र शान्तिपुर्ण समाधानतर्फ बंगलादेश तत्पर रहेको तर म्यानमारबाट ठोस पहल नभएकोमा अब यसतर्फ गम्भिर हुनुपर्ने बताइन् । बंगलादेशमा म्यानमारबाट आएका रोहिंग्या शरणार्थीहरुको संख्या ७ लाख २० हजार पुगेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।
भिडियो हेर्नुहोस्:
ती शरणार्थीहरुलाई म्यानमारका सेनाले १३ महिना अघि ज्यादति गरेर लखेटेको शरणार्थीहरुले बताएका छन् । तर म्यानमारका सैनिक अधिकारिहरुले रोहिंग्या शरणार्थीहरुको आरोप प्रति असहमति जनाएका छन् ।
सैनिक अधिकारीहरुले अतिवादी रोहिंग्याहरुले म्यानमारमा उत्पात मच्चाएपछि तिनीहरु विरुद्ध कारबाही मात्र गरिएको दाबी गरेका छन् । बंगलादेशको शरणार्थी शिविरमा बसेका राहिंग्या मुस्लिम मध्ये बालबालिका र महिलाहरुले कष्टपुर्ण जिवन विताउनु परेको पीडितहरुले बताएका छन् ।
शरणार्थीहरुले शिविरमा खाद्यान्नको कमि, खानेपानिको अभाव र सिमित लुगाफाटा प्रयोग गर्नुपर्ने स्थितिले कष्टपुर्ण जिवन बिताउन बाध्य हुनुपरेको बताएका छन् । शरणार्थीहरुले सहज वातावरणमा स्वदेश फर्किन पाउनु पर्ने तथा म्यानमारमा सुरक्षाको ग्यारेण्टि हुनुपर्ने अडान राखेका छन् ।