अख्तियारको प्रमुख आयुक्तमा घिमिरेको नाम अनुमोदन | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

अख्तियारको प्रमुख आयुक्तमा घिमिरेको नाम अनुमोदन

काठमाडौं, ५ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नविनकुमार घिमिरेको नाम अनुमोदन भएको छ । संसदीय सुनुवाई विशेष समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा घिमिरेको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।

योग्यता, क्षमता र अनुभवको आधारमा घिमिरेलाई प्रमुख आयुक्त बनाउने संवैधानिक परिषदको निर्णय अनुमोदन गरिएको समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिए ।

यसअघि समितिमा सांसदहरुले राखेका बिभिन्न प्रश्नको जवाफ दिँदै प्रस्तावित प्रमुख आयुक्त घिमिरेले अख्तियारको गरिमा र प्रतिष्ठालाई कायमै राखेर अघि बढने प्रतिवद्धता व्यक्त गरे । उनले आयोगको अनुसन्धानको कामलाई प्रभावकारी बनाउन सक्दो पहल गर्ने योजना पनि सार्वजनिक गरेका छन् ।

बैठकमा समितिका सदस्यहरुले आयोगलाई प्रभावकारी बनाउन आवश्यक पहलकदमी लिन घिमिरेलाई सुझाव दिएका थिए । समितिका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले अख्तियारलाई राजनीतिक प्रभावबाट मुक्त राखेर अघि बढ्न कार्यबाहक प्रमुख आयुक्त घिमिरेलाई आग्रह गरे ।

समितिका अर्का सदस्य योगेश भट्टराईले सरकारको छायामा नपर्न घिमिरेलाई सचेत गराए । उनले अख्तियारलाई प्रभावकारी बनाउन समितिबाट आवश्यक सहयोग हुने बताए ।

संवैधानिक परिषदको गत भदौं २० गते बसेको बैठकले कार्यबाहक प्रमुख आयुक्त घिमिरेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस गरेको थियो । संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि अख्तियारको प्रमुख आयुक्तमा राष्ट्रपतिले नियुक्ती गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

२०७१ सालमा आयुक्त नियुक्त भएका घिमिरेले २०७४ साल माघ २९ गतेदेखि अख्तियारको कार्यबहाक प्रमुख आयुक्तको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);