नेपाल बैंक घोटाला : १ करोडको सुनमा, १५ करोड कर्जा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

सुनसरी, ८ भदौ । इटहरीमा सुन पसल चलाउने माधव रिसाल गत वर्ष ८ ग्राम सुन लिएर कर्जा लिन नेपाल बैंकको धरान शाखामा गए।करिब ३५ हजार रुपैयाँ मूल्यबराबरको सुन थियो । तर, उनले बैंकबाट ३५ लाख रुपैयाँ कर्जा लिएर निस्किए। ३५ हजार रुपैयाँको धितो राखेर ३५ लाख रुपैयाँ निकाल्नु आश्चर्यजनक थियो।

त्यो आश्चर्यका पछाडि खास दुईवटा सुन्नाको खेल थियो । धितोको मूल्यांकन ३५ हजार रुपैयाँ भएकामा त्यसमा बैंकका खजान्ची पदमा काम गर्ने हरिप्रसाद भट्टराईले दुईवटा सुन्ना थपिदिएर ३५ लाख बनाइदिएका थिए । त्यही मूल्यांकन आधारमा कर्जा शाखाले उनलाई ३५ लाख रुपैयाँ दिएको थियो।

 

खजान्ची भट्टराई मात्र होइन, बैंकका प्रबन्धकदेखि कर्जा शाखाका सबै कर्मचारीको मिलेमतोमा ९७ पटक अनियमित तरिकाले कर्जा प्रवाह गरेका थिए । हाल प्रहरीले उक्त घटनाको अनुसन्धान गरी बैंकका पाँच कर्मचारीसहित ११ जनालाई पक्राउ गरेको छ । पटक–पटक गरेर बैंकबाट १५ करोड ५१ लाख ४३ हजार नौ सय पाँच रुपैयाँ अनियमितता भएको सिआइबीले जनाएको छ।

२ किलो सुनमा १५ करोड कर्जा

९७ पटक गरेर बैंकले उक्त गिरोहलाई कर्जा दिएको थियो । जसमध्ये कतिपय अवस्थामा कमसल धितो राखिएको र कतिपय अवस्थामा थोरै सुनलाई धेरै देखाएर अनियमितता गरिएको सिआइबीकी एसपी मीरा चौधरीले बताइन् । पित्तललाई सुन भनेरसमेत कर्जा दिइएको छ । हाल हिसाब गर्दा करिब २ किलो मात्र सुन धितो राखिएको अनुसन्धानमा खुलेको छ।

०६६ सालदेखि पटक–पटक त्यसरी कमसल धितो राखेर कर्जा निकाली ठगी गरिएको प्रहरीको दाबी छ । बैंकमा पछि गएका कर्मचारीले थाहा पाएपछि छानबिन भएको थियो । ठूलो ठगी भएकाले बैंकले प्रहरीमा उजुरी दिएको थियो । सोही आधारमा सिआइबीले शुक्रबार ११ जनालाई पक्राउ गरेको हो । बैंकभित्रै सो विषयमा विवाद भएपछि घटना बाहिर आएको थियो।

 

घटनाको प्रारम्भिक अनुसन्धान भइरहेको र ठगीको थप विवरण आउन बाँकी रहेको एसपी चौधरीले बताइन् । पक्राउ परेकालाई उच्च अदालत विराटनगरबाट म्याद थप गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ । सिआइबीका एसपी कमल थापा नेतृत्वको टोलीले धरानमै बसेर घटनाको अनुसन्धान गरिरहेको छ।

५ कर्मचारी थुनामा

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले नेपाल बैंकको धरान शाखाका तत्कालीन प्रबन्धक(हाल विराटनगर शाखाका प्रबन्धक) पुष्पराज घिमिरेसहितलाई पक्राउ गरेको हो । पक्राउ पर्ने अन्यमा बैंकका धरान शाखाका सहायक प्रबन्धक शंकर न्यौपाने तथा शाखा अधिकृत सानुबाबु श्रेष्ठ छन्।

 

बैंकबाट पहिले नै निलम्बनमा परिसकेका कर्मचारी होमबहादुर भट्टराई र रामकिशोर मेहतालाई पनि प्रहरीले पक्राउ गरेको छ । भट्टराई खजान्ची तथा मेहता सहायक शाखा प्रबन्धकका रूपमा कार्यरत थिए । उक्त अनियमितताको प्रारम्भिक अनुसन्धान भइरहेको र अरू पनि संलग्न भएको हुन सक्ने सिआइबीका एसएसपी शेरबहादुर बस्नेतले बताए।

 

त्यस्तै, कर्मचारीसँग मिलेर ठगी गर्ने सुनसरीका लालबहादुर विक, भोजपुरका ज्ञानेन्द्र पुरकुटी, सुनसरीका सञ्जित रसाइली, माधव रिसाल, सन्तोष रसाइली र सुनील विकलाई पनि प्रहरीले पक्राउ गरेको छ। उनीहरूमध्ये बैंकमा सेटिङ मिलाउने ज्ञानेन्द्र पुरकुटी हुन्। उनको धरानमा सुन पसल छ। आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);