एनसीसी बैंकमा डेढ अर्ब घोटाला प्रकरण , सीआईबीद्वारा सञ्चालकसहित १३ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

एनसीसी बैंकमा डेढ अर्ब घोटाला प्रकरण , सीआईबीद्वारा सञ्चालकसहित १३ जना पक्राउ

ncc bank

काठमाडौं, ३ चैत । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकमा १ अर्ब ५० करोड रुपैयाँ घोटाला गरेको अभियोगमा प्रहरीले सञ्चालकसहित १३ जनालाई पक्राउ गरेको छ । तत्कालीन एपेक्स डेभलपमेन्ट बैंक एनसीसी बैंकसँग मर्जरमा जाने सहमतिपत्रमा हस्ताक्षर हुँदा त्यसको फाइदा उठाउँदै कमसल धितो राखेर कर्जा प्रवाह गरी बैंकलाई हानि नोक्सानी पुर्याएको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको हो । ११ मंसिर २०७२ मा एपेक्स डेभलपमेन्ट बैंक एनसीसी बैंकसँग मर्ज भएको थियो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) पुष्कर कार्कीले तत्कालीन एपेक्स डेभेलपमेन्ट बैंकले दरबारमार्ग, लोकन्थली, इटहरी, सुर्खेत र नेपालगन्ज शाखाबाट अनियमित प्रक्रियाबाट कर्जा प्रवाह गरी बैंकलाई १ अर्ब ५० करोड ९६ लाख ३३ हजार ९ सय ८४ रुपैयाँ हानि नोक्सानी पु¥याउनेमध्येका १३ जनालाई पक्राउ गरिएकोे बताए । एनसीसी बैंकले एपेक्समार्फत समयमै कर्जा नउठेपछि कर्जा नउठेको विषयमा आन्तरिक अनुसन्धानसमेत गरेको थियो । तर, आन्तरिक अनुसन्धानबाट एपेक्सकै बदमासी भेटिएपछि राष्ट्र बैंकमार्फत सो घोटालाको अनुसन्धान गर्ने जिम्मा सीआईबीलाई दिइएको थियो ।

एपेक्स डेभलपमेन्ट बैंकसहित नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेडमा इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक र इन्टरनेसनल डेभलपमेन्ट बैंक गाभिएर १७ पुस २०७३ बाट एकीकृत कारोबार सुरु भएको थियो । कारोबार सुरु भएको एक वर्ष दुई महिनापछि सो घोटालाको विषयमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

कर्जा प्रवाहको विषयमा बैंकले अनुसन्धानका लागि राष्ट्र बैंकमार्फत सीआईबीलाई अनुरोध गरेपछि बैंकको केन्द्रीय कार्यालय बागबजारमा बोर्ड बैठक बसिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेहरूमा तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकका अध्यक्ष विष्णुप्रसाद धिताल, सोही बैंकका तीनजना सञ्चालक इच्छाबहादुर गुरुङ, सुवर्णराज भण्डारी तथा मधुवनलाल श्रेष्ठ, सोही बैंकका निमित्त कार्यकारी अधिकृत ऋषिराज भट्ट, वरिष्ठ प्रबन्धक दुर्गादत्त जोशी, सहायक महाप्रबन्धक रामचन्द्र बसौला, शाखा प्रबन्धक विकास श्रेष्ठ, लोकन्थली शाखा प्रमुख सागर न्यौपाने, शाखा प्रबन्धक मानबहादुर राउत, सहायक महाप्रबन्धक विनितमणि उपाध्याय, कर्जा अधिकृत मोहन खरेल र शाखा प्रबन्धक सुदीप थापा रहेका छन् ।

पक्राउ पर्नेमा अधिकांश एनसीसीमा गाभिनुअघि एपेक्स बैंकको कार्यकारी पदमा रहेकाहरू छन् । पक्राउ परेका हाल एनसीसी बैंकका विराटनगर क्षेत्रीय प्रबन्धक रहेका ऋषिराज भट्ट तत्कालीन एपेक्स बैंकका निमित्त कार्यकारी अधिकृत थिए । मर्जर गर्ने सहमतिपछि बैंकका तत्कालीन प्रमुखहरूले कमसल धितो (भिरालो पाखोबारी, बाटा नपुगेका जग्गाहरू)को अधिक मूल्यांकन गरी कर्जा लगानी गरेको, कृत्रिम ऋणीहरू खडा गरिएको, निश्चित क्षेत्रको कमसल जमिनमा विभिन्न ऋणी खडा गरी कर्जा अधिकेन्द्रित गरेको, ऋणीको नक्कली आयस्रोतसम्बन्धी विवरणलाई स्वीकृत गर्ने गरी ऋण प्रवाह गरेका थिए ।

कर्जा प्रवाह गर्दा मोटरबाटो नभएको भिराला पाखाबारी, खेत, वन क्षेत्र भएको जग्गाहरूमा बाटो भएको प्रमाणित गरेको, धितो निरीक्षण कर्जा निर्णय जग्गा किनबेच रोक्का कर्जा तमसुक कर्जा प्रवाह एकै दिनमा गरेको, कमसल जग्गाहरू धेरै टुक्रा पार्ने तथा धेरै ऋणीको नाममा धेरै कर्जा दिने गरेको, कर्जा तमसुकमा एकल ऋणीको मात्र सहीछाप गराई साक्षीहरूसमेत नराखी कर्जा दिएको, सावाब्याज नियमित रूपमा भुक्तान नगरेका ऋणीलाई पुनः दोस्रो कर्जा प्रवाह गरिएको थियो ।

एनसीसी बैंकसँग पाँचवटै बैंकले मर्जरका निम्ति सहमतिपत्रमा ११ मंसिर २०७२ मा हस्ताक्षर गरी नेपाल राष्ट्र बैंकसमक्ष संयुक्त आवेदन दिएका थिए । नेपाल राष्ट्र बैंकबाट ३ चैत २०७२ मा मर्जरका निम्ति सैद्धान्तिक सहमति दिइएको थियो । राष्ट्र बैंकले सो सहमति दिएपछि सबै संस्थाले मर्जरसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरी मर्जरसम्बन्धी प्रस्तावहरू आआफ्ना वार्षिक साधारणसभाबाट पारित गराएका थिए ।

सबै प्रक्रिया पूरा गरेपछि मर्जरको अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष संयुक्त आवेदन पेस गरी नेपाल राष्ट्र बैंकबाट २० मंसिर २०७३ मा र कम्पनी रजिस्ट्रारको कार्यालयबाट १४ पुस २०७३ मा स्वीकृति प्राप्त गरेका थिए । त्यसलगत्तै उनीहरूले एकीकृत कारोबार गरेका हुन् ।

यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);