गाउँपालिकाले ल्यायो तत्कालीन जनसत्ताका निर्णय कार्यान्वयनमा | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

रुकुम, ८ भदौ । बाँफिकोट गाउँपालिकाले तत्कालीन जनसत्ताले गरेका निर्णयलाई कार्यान्वयनमा ल्याउन सुरु गरेको छ । गत १७ जेठमा बसेको गाउँपालिकाको पहिलो बैठकले तत्कालीन जनसत्ताले गरेका घरजग्गा कारोबारको लगत संकलन गर्ने र कार्यान्वयनमा ल्याउने निर्णय गरेको थियो ।

 

सोही निर्णयअनुसार गाउँपालिकाले जनसत्तामा घरजग्गाको कारोबार गरेका दुवै पक्षलाई बोलाएर छलफल सुरु गरेको गाउँपालिका अध्यक्ष धर्मबहादुर केसीले जानकारी दिए । साबिकको बाँफिकोट गाविसबाट सुरु भएको छलफल सकारात्मक भएको उनको भनाइ छ। तत्कालीन नेकपा माओवादीले १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा जनसत्ता गठन गरेर घर–जग्गालगायतको कारोबार गरेको थियो।

 

जनसत्तामा रजिस्ट्रेसन पास दिएकै मूल्यमा घर–जग्गा पास दिन जग्गाधनी राजी भएको अध्यक्ष केसीको दाबी छ । हालको बाँफिकोट गाउँपालिका वडा नं। ३, ४ र ५ मा पर्ने साबिकको बाँफिकोट गाविसमा जनसत्तामार्फत ७५ वटा घरजग्गाको कारोबार भएको थियो ।

 

१५ दिनभित्र छाड्न जग्गाधनी सहमत
जनसत्ताले गरेका घरजग्गासम्बन्धी निर्णयलाई कार्यान्वयनमा ल्याउने निर्णयअनुसार प्रत्येक वडाबाट वडाध्यक्षको नेतृत्वमा लागत संकलन सुरु भएको थियो । लागतअनुसार नै घरजग्गा बेच्ने र किन्नेलाई बोलाएर छलफल गरिएको हो।

तत्कालीन बाँफिकोट गाविसमा दुई चरणमा भएको छलफलमा सहभागी जग्गाधनीहरु १५ दिनभित्र जिल्ला मालपोत कार्यालयबाट घरजग्गा पास दिन सहमत भएको गाउँपालिका अध्यक्ष धर्मबहादुर केसीले बताए।

‘छलफलमा भएको निर्णयअनुसार जग्गा किन्नेले जग्गाधनीसँग पासका लागि अनुरोध गर्ने र दुवै पक्ष जिल्ला मालपोत कार्यालयमा पुगेर पास लिने–दिने काम गर्नेछन्,’ उनले भने । दुवै पक्ष मञ्जुर भएपछि तोकिएकै समयमा जग्गा पास हुने उनको विश्वास छ। आजको नयाँ पत्रिकामा खबर छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);