काठमाडौं, ३१ भदौ । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आफूहरु अलमलमा नरहेको दावी गरेका छन् । मुख्यमन्त्री पौडेलले समस्यै समस्याबाट गुज्रिनु परेकाले सरकारले अपेक्षा अनुसार गतिलिन नसकेको बताए ।
आईतबार काठमाडौंमा आयोजित नेपाल उद्योग परिसंघसँगको अन्तरक्रिया कार्यक्रममा उनले कर्मचारी तथा संरचना अभावका कारण आफू नेतृत्वको सरकारको कामले गति लिन नसकेको उल्लेख गरे । पौडेलले प्रदेश सरकारले कामलाई गतिदिने गरी बाटो बनाउने काम गरिरहेको दावी गरे । उनले केही समयपछि उद्योगी, व्यवसायीहरुले अपेक्षा गरेभन्दा बढि काम गरेर देखाउने आश्वासन दिए ।
प्रदेश ३ को समृद्धिका लागि उद्योग स्थापना मूल आधार रहेको पौडेलको भनाइ थियो । उनले प्रदेश ३ को समृद्धिका लागि निजी क्षेत्रसँग सहकार्य गरेर जाने प्रतिवद्धता दोहोर्याए । पौडेलले उद्योग स्थापनाका लागि सहज वातावरण बनाउन आवश्यक सबै सहयोग गर्ने उल्लेख गरे ।




